Logo

दलाई लामालाई भेटेर अमेरिकी उपमन्त्री आज नेपाल आउँदै



काठमाडौं, जेठ ६। अमेरिकाको प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामालाई भेटेर आज शुक्रबार नेपाल आउँदै छिन् ।

मंगलबार नयाँदिल्ली उत्रिएकी उनी बुधबार हिमाञ्चल प्रदेशमा रहेको धर्मशाला पुगेर दलाई लामालाई भेटेकी थिइन् । त्यहाँ उपमन्त्री जियाले निवार्सित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसहित अन्य प्रतिनिधिसँग बिहीबार बिहान भेटवार्ता गरेकी छन् ।

छोटो भेटवार्ताका क्रममा अमेरिकी विशेष संयोजकले अमेरिकी राष्ट्रपति जो बाइडेन र अमेरिकी जनताले दलाई लामालाई शुभकामना व्यक्त गरे । उनले दलाई लामाको सुस्वास्थ्यको कामना गर्दै लामाले दिएको शान्ति सन्देशका लागि विश्वप्रति कृतज्ञता व्यक्त गरेकी थिइन् ।

केन्द्रीय तिब्बती प्रशासनकाअनुसार बिहीबार बिहान तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक जियाले धर्मशालाको म्याक्लियोड गञ्जमा रहेको दलाई लामाको आधिकारिक निवासमा द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

‘कार्यक्रममा निवार्सित तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङलगायत अन्य प्रतिनिधि र अमेरिकी विशेष संयोजकको प्रतिनिधिमण्डलका सदस्यको पनि उपस्थिति रहेको थियो,’ प्रशासनको बेबसाइटमा उल्लेख गरिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले जियालाई गत २० डिसेम्बरमा तिब्बती मामिला हेर्ने विशेष संयोजक नियुक्त गरेका थिए । त्यसयता उनको दलाई लामासँग पहिलो भेट भएको थियो ।

जियाको भ्रमण नेपालमा एक दशक लामो समयपछि अमेरिकी उच्चस्तरीय भ्रमण हो । नेपालमा एमसीसी अनुमोदन भएपछि एकपछि अर्को गर्दै बढिरहेको अमेरिकी अधिकारीहरूको भ्रमणले पछिल्लो समय निरन्तरता पाइरहेको छ ।

उपविदेशमन्त्री जियालाई चीन र दलाई लामा वा उनको प्रतिनिधिबीच निःसर्त संवादलाई प्रोत्साहन गर्ने जिम्मेवारी छ । सोही जिम्मेवारीअनुसार नै उनी भारत र नेपाल भ्रमणमा आएकी हुन् ।

अमेरिकी विदेश मन्त्रालयकाअनुसार जियाको भ्रमण मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोगलाई अझ गहिरो बनाउन र मानवीय प्राथमिकता अगाडि बढाउन भारत र नेपालमा केन्द्रित हुने उल्लेख गरेका छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्