Logo

चिनियाँ राष्ट्रपति सी चिनफिङविरुद्ध पूर्व नेताहरु बोल्न थाले



एजेन्सी, ६ जेठ । चिनियाँ कम्युनिस्ट पार्टीका नेताविरुद्ध पूर्व तथा वर्तमान नेताहरुले सार्वजनिक रुपमा सायदै बोल्छन् । तर, यसपटक पूर्वनेताहरुले चिनियाँ राष्ट्रपति सी चिनफिङविरुद्ध बोल्न थालेका छन् ।

चीनका पूर्व प्रधानमन्त्री झु रोङ्जीले सी चिनफिङको तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने योजनाको विरोध गरिसकेका छन् । अन्य पूर्व नेताहरुले पनि मुख खोलेका छन् । सीविरुद्ध आवाज बढ्न थालेपछि पिपल्स डेल्लीमा त्यस्ता अभिव्यक्ति नदिन लेख नै आएको छ । राष्ट्रपति सीविरुद्धको असहमतिलाई सार्वजनिक नगर्न अवकाश पाएका नेताहरुलाई भनिएको छ । उनीहरुलाई अनुशासनमा रहन भनिएको हो ।

लेखमा अवकाशप्राप्त नेताहरुलाई काउन्सिलिङ गर्ने र तालिम दिने विषय पनि उल्लेख छ । यो लेख झुको असहमतिको अभिव्यक्ति पछि आएको हो ।

९४ वर्षीय पूर्वप्रधानमन्त्री झु सीको तेस्रो कार्यकाल राष्ट्रपति बन्नका लागि चालिएको कदमप्रति सन्तुष्ट छैनन् । उनले माओत्से तुङले चिनियाँ कम्युनिस्ट पार्टीका नेताको दुई कार्यकाल सिमित गरेका थिए ।

यसैगरी, सी चिनफिङले पूर्व राष्ट्रपति हु जिन्ताओसँग निकटहरुको नियमित अवकाशपछि निकटस्थहरुलाई शक्तिशाली पदमा ल्याउन लागेको खबर पनि सार्वजनिक भएको छ । त्यसपछि उनी पार्टीभित्र झन् शक्तिशाली बन्नेछन् । चीनमा सीलाई माओत्से तुङपछि कम्युनिस्ट शासनको इतिहासमा सबैभन्दा शक्तिशाली नेताका रुपमा लिन थालिएको छ ।



प्रतिक्रिया दिनुहोस्