Logo

देव गुरुङलाई धमलाको प्रश्नः “१२ जिल्लामा माओवादी केन्द्र ‘निल’ भयो नि !”



काठमाडौं, ६ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले तालमेल भएको ठाउँमा कम र एक्लै लडेको ठाउँमा पार्टीले सफलता पाएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “स्थानीय तह निर्वाचनको अहिलेसम्मको नतिजा हेर्दा हाम्रो पार्टी २०७४ भन्दा केही सुदृढ हुने देखिन्छ । ५ दलबीच जुन स्तरको गठबन्धन भएको थियो, त्यसको सापेक्षतामा नतिजा आइरहेको छ । तर कुल तालमेल सिट भनेको १४ प्रतिशत मात्र हो । वास्तवमा हामीले तालमेल भएका ठाउँमा कम र एक्लै लडेका ठाउँमा धेरै जितेको अवस्था छ ।”
माथि गठबन्धन भए पनि जनस्तरका कति सहकार्य भयो भन्ने गम्भीर समीक्षाको पाटो भएको उनले औंल्याए । गुरुङले भने, “राष्ट्रिय राजनीतिमा सहकार्य आवश्यक थियो, तर विगतमा हामी अलग थलग ढंगले लडेकाले सबै ठाउँमा सहजता र प्रभावकारिताका साथ सहकार्य हुन सकेन । तर, अहिले नै ५ घटकभित्र एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने हदसम्म नजाऊँ । एउटालाई मात्र दोष थोपर्ने काम नगरौं । पहिले सबै नतिजा आउन दिऊँ । जनस्तरसम्म कति स्वीकार्य भयो, भएन भन्ने समीक्षा, मूल्यांकनको पाटो हो ।”
माओवादी केन्द्र १२ वटा जिल्लामा निल भयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “यो पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली हो । एक मतले पनि हारजित हुन्छ । कुनै ठाउँमा सर्लक्क आउन सक्छ, कुनै ठाउँमा कत्ति पनि नआउन सक्छ । खास भन्ने हो भने यो पुँजीवादी निर्वाचन हो । यसमा पुँजीको चलखेल हुन्छ । राजधानी जस्तो ठाउँमा कुन प्याटर्नमा भोट आइरहेको छ ? विचार र सिद्धान्तबिनाको भोट आउनुलाई के भन्ने ?”



प्रतिक्रिया दिनुहोस्