Logo

संघ र प्रदेशमा वाम तालमेलको वातावरण बन्दैछः एमाले सचिव



काठमाडौं, ६ जेठ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले वामपन्थी दलहरुबीच एकताको सम्भावना नभए पनि आगामी प्रदेश र संघको निर्वाचनमा तालमेल हुन सक्ने बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ अर्यालले भनिन्, “हिजो वाम गठबन्धन मात्र होइन, पार्टी एकता पनि भएकै हो, तर असामयिक दुर्घटना हुन पुग्यो । त्यसैले हामीले क्षणिक आवेग र उत्तेजनामा आएर निर्णय गर्दैनौं । म तत्काल पार्टी एकताको सम्भावना देख्दिनँ, तर संघ र प्रदेश निर्वाचनमा विचार मिल्ने मित्रशक्तिसँग तालमेल हुन सक्छ ।”
उनले नेकपा एमाले अहिले पनि पहिलो पार्टी नै भएको दाबी गरिन् । अर्यालले थपिन्, “स्थानीय तहको निर्वाचनले कुन पार्टीको हैसियत के हो भन्ने तस्बिर स्पष्ट हुन सकेन । किनभने फरक फरक विचारधारा बोकेका ५ दलीय दलहरुबीच गठबन्धन भयो । त्यसैले कसको कति मत हो हो भन्ने थाहा हुन सकेन । संख्यामा कांग्रेसको बढी देखिए पनि मत छुट्याउने हो भने पहिलो पार्टी एमाले नै हो ।”
आफू इन्चार्ज रहेको गण्डकी प्रदेशमा एमालेको सिट संख्या बढेको पनि उनले बताइन् । अर्यालले भनिन्, “गण्डकी प्रदेशमा अघिल्लो चुनावभन्दा एमालेले सिट वृद्धि गरेको छ । दुईतीनवटा पालिकाको मत गणना जारी छ । ३५ वटा पालिकामा एमालेको विजय भइसकेको छ । पालिकागत प्रगति राम्रो छ । पुरानो मत संरक्षण भएको छ । त्यसैले पार्टी विभाजनको असर देखिएन भन्ने साबित भएको छ ।”
साथै उनले स्थानीय निर्वाचनलाई पार्टी नेतृत्वको असफलताका रुपमा नबुझिएको पनि औंल्याइन् । उनले भनिन्, “नेकपा एमालेलाई क्षति गराउनकै लागि गठबन्धन भएकाले सिट कम हुनु स्वाभाविकै हो । प्रतिकूलताका बीचमा अपेक्षाकृत नतिजा ल्याउन सकेनौं । तर जनताले दिएको अभिमतमा असन्तुष्ट हुने कुरा पनि भएन । गठबन्धन एकातिर, एमाले अर्कातिर हुँदा पनि मतका हिसाबले हामी कमजोर भएको देखिँदैन । अहिले पार्टी नेतृत्वबारे कुनै प्रश्न उठेको छैन । पार्टीभित्र कसैले पनि नेतृत्वको असफलता हो भन्ने ढंगले औंला उठाएको छैन ।”



प्रतिक्रिया दिनुहोस्