Logo

पेशागत महासङ्घ २८औँ वर्षमा



काठमाडौँ,६ जेठ । औपचारिक र अनौपचारिक क्षेत्रमा क्रियाशील पेशाकर्मीहरूको छाता सङ्गठन नेपाल पेशागत महासङ्घ (कोनेप) स्थापनाको २८औँ वर्षमा प्रवेश गरेको छ ।

महासङ्घको केन्द्रीय कार्यालय थापाथलीमा आज आयोजित २८औँ स्थापना दिवस तथा शुभकामना आदान–प्रदान कार्यक्रममा महासङ्घका संयोजक एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य बाबुराम थापाले पेशागत मर्यादा, स्वाभिमान र सुरक्षाका लागि सङ्घर्षशील हुँदै ट्रेड युनियन अधिकार र बौद्धिक श्रमिकका हितका सवालमा बुलन्द आवाज उठाउनुपर्नेमा जोड दिए । उनले महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने तयारी भएको र सङ्गठनलाई थप प्रभावकारी बनाउने योजना ल्याइने बताए ।

महासङ्घका सल्लाहकार कुलबहादुर आचार्यले पेशागत हक, हित र सुरक्षाका सवालमा एकताबद्ध भएर लाग्न शुभकामना दिए । महासङ्घका सचिव डा ऋषिकेश पन्थीका अनुसार महासङ्घमा हाल २९ आबद्ध घटक (राष्ट्रिय सङ्घ), ४३ प्रतिष्ठान कमिटी र छ लाख ३० हजार साधारण सदस्य छन् । महासङ्घमा निजामती कर्मचारी, शिक्षक, वित्तीय कर्मचारी, स्थानीय तह तथा स्वास्थ्य क्षेत्रका कर्मचारी, विश्वविद्यालयका कर्मचारी, इञ्जीनियरिङ पेशाकर्मी, सामुदायिक क्याम्पसका प्राध्यापक, सार्वजनिक संस्थाका कर्मचारीलगायत आबद्ध छन् ।

ट्रेड युनियन अधिकार र हितको प्राप्ति तथा संरक्षण गर्दै पेशागत सङ्घ–सङ्गठनमा आवद्ध शक्तिलाई एकापसमा समायोजन तथा सवलीकरण गरी राष्ट्रको सेवामा समर्पित भई पेशागत दक्षता वृद्धि गर्न विसं २०५२ जेठ ५ गते सो महासङ्घको स्थापना भएको थियो । सुरुमा पेशागत ऐक्यबद्धता मञ्च नेपालको नामबाट स्थापित सो संस्थाको २०५३ जेठ ४ र ५ गतेको राष्ट्रिय भेलाबाट महासङ्घमा परिणत भएको हो । रासस



प्रतिक्रिया दिनुहोस्