Logo

शिर्ष नेताका उम्मेदवार किन आफ्नै पालिकामा पराजित



काठमाडौं, ६ जेठ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुराको आफ्नै वडामा पार्टीका उम्मेदवारलाई जिताउन सकेनन् । वडा नम्बर १ मा काँग्रेसका वडाध्यक्षका उम्मेदवार नरेश भण्डारी विजयी भए । काँग्रेस वीपीका भण्डारीले काँग्रेसका उम्मेदवारलाई डेढ सय मतले पराजित गरे ।

गन्यापधुरा गाउँपालिकामा भने काँग्रेसले अध्यक्ष जितेको छ । यो राष्ट्रिय चासोको विषय बन्यो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित हासिल गरेको छ । ओलीको निर्वाचन क्षेत्र समेत पर्ने दमकमा एमालेको पराजयलाई अर्थपूर्ण मानिएको छ । ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिकाको वडामा पनि एमाले पराजित भएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीको चुनावी क्षेत्र रहेको काठमाडौं महानगरपालिका ३२ को अध्यक्षमा नेकपा एमालेका नवराज पराजुली विजयी भए । त्यहाँ एसकी सीतादेवी कँडेल पराजित भइन् । नेपालले आफ्नो गृहक्षेत्र रौतहटको गौर नगरपालिकामा भने एसलाई जिताउन सफल भए ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनालको जन्मगाउँ इलाम नगरपालिका १ मा उनकै दलका नेता पराजित भएका छन् । त्यहाँ वडाध्यक्षसहित ३ सदस्य एमालेले जित्दा एसले एक सदस्य मात्र जितेको छ ।

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले पनि गोरखाको आफ्नो निर्वाचन क्षेत्रको पालिका जिताउन सकेनन् । जसपाका प्रभावशाली नेता डा. बाबुराम भट्टराईले पनि गोरखास्थित आफ्नो गृहक्षेत्र रहेको पालिका जिताउन सकेनन् ।

नेकपा माओवादी केन्द्रका नेता समेत रहेका अर्थमन्त्री जर्नादन शर्माको गृहक्षेत्र रहेको रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा काँग्रेस विजयी भएको छ । रुकुम माओवादीको गढ मानिएपनि यसपटक काँग्रेसले बाजी मारेको छ ।

यसरी देशका प्रभावशाली नेताहरु आफ्नै वडा र पालिकामा पार्टीका उम्मेदवारहरुलाई जिताउन असफल भएका छन् । नेताहरु केन्द्रमा जति प्रभावशाली छन् स्थानीय तहमा उत्तिकै कमजोर रहेको चुनावी परिणामले देखाइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्