Logo

जो १ मतले विजयी भए…



काठमाडौं, जेठ ७। स्थानीय तह निर्वाचन सम्पन्न भएर मतगणना जारी रहेको छ । अधिकांश पालिकामा मतगणना सम्पन्न भएर निर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ लिएर कार्यभार सुरु गरिसकेका छन् ।

यद्यपि केही पालिकामा अझै मतगणना जारी रहेको छ । सार्वजनिक भएको केही परिणाम निकै रोचक देखिएको छ । कडा प्रतिस्पर्धाका बीचमा केही ठाउँमा १ मतको अन्तरले जित हार भएको छ ।

मधेस प्रदेशको पर्सा जिल्ला बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश चौरसिया १ मतले विजयी भएका छन् ।

मधेस प्रदेशकै महोत्तरीको महोत्तरी गाउँपालिका–१ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रञ्जितकुमार चौधरी १ मतले विजयी भए । यसैगरी, महोत्तरीको बर्दिवास नगरपालिका ७ मा पनि स्वतन्त्र उम्मेदवार रामस्वगारथ यादव १ मतले विजयी भएका छन् ।

काभ्रे जिल्लाको ३ स्थानीय तहका ३ वडामा एक÷एक मतान्तरले वडाध्यक्षमा विजयी भएका छन् । तेमाल गाउँपालिका वडा नम्बर १ मा एमालेका इन्द्र अधिकारी १ मतले विजयी भएका छन् ।

काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका सुशील लामा पनि १ मतले विजयी भएका छन् । उनले ४ सय २ मत पाउँदा माओवादी केन्द्रका राजु आलेले ४ सय १ मत पाएर पराजित भएका छन् ।

यस्तै अर्घाखाँचीकोे मालारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्षमा एमालेका नारायणप्रसाद अर्याल १ मतले विजयी भएका छन् । मुस्ताङको घरपझोङ गाउँपालिकामा पनि दुई मतको अन्तरले हारजित भएको छ ।

यसैगरी रूपन्देहीको शुद्धोधन गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा विपक्षीको भन्दा जनता समाजवादी पार्टी नेपाल (जसपा)का उदयराज गडेरियाले एक मत बढी पाएर विजयी भएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्