Logo

काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !



काठमाडौं, जेठ ७। गठबन्धनको दोस्रो ठूलो दल रहेर पनि नेकपा (माओवादी केन्द्र) काठमाडौं उपत्यकाको तीन जिल्लामा रहेका स्थानीय तहको नेतृत्वमा शून्य हुने देखिएको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा २० वटा स्थानीय तह छन् । त्यसमध्ये दुईवटा त महानगर छन् ।

गठबन्धनको पहिलो ठूलो दल कांग्रेसले उपत्यकाका स्थानीय तहमा राम्रो जित हासिल गरे पनि दोस्रो ठूलो दल माओवादी भने शून्य अवस्थामा पुग्ने देखिएको हो ।

मतगणना जारी रहेका कुनै पनि स्थानीय तहमा माओवादी आउने सम्भावना नै छैन । मतगणना सकिएको ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा मात्र माओवादी प्रतिस्पर्धी दल बन्यो ।

जहाँ पहिले माओवादीले अध्यक्ष र उपाध्यक्षसँगै वडा नम्बर १, २ र ५ जितेको थियो । कांग्रेसले वडा नम्बर ३ र ४ जित्दा एमाले वडा र गाउँपालिकाको नेतृत्वबाट ‘क्लिन स्विप’ भएको थियो ।

यसपटक भने अध्यक्षमा एमालेका कृष्णमान लामा निर्वाचित भए । २०७४ सालमा उनी माओवादीका गोपीलाल सिङ्तानबाट पराजित भएका थिए । बाँकी १९ मध्ये केही स्थानीय तहको परिणाम आएको छ । महाङ्काल र बाग्मती गाउँपालिकामा भने दुई उपाध्यक्ष माओवादीले पाएको छ । अध्यक्ष भने कांग्रेसले जितेको छ ।

ललितपुर महानगरपालिकाको उपप्रमुखमा माओवादी उम्मेदवार बाबुराजा बज्राचार्य पराजित हुने सम्भावना बढ्दै गएको छ । माओवादी नेताहरूले त्यहाँ कांग्रेसबाट धोका पाएको भन्दै गुनासो गर्दै आएका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावारी नगरपालिका पनि माओवादीले जित्ने सम्भावना छैन । काठमाडौंको १० र भक्तपुरको चार स्थानीय तहबाट पनि माओवादी प्रमुख पदमा आउने सम्भावना देखिएको छैन । यही विश्लेषणका आधारमा काठमाडौं उपत्यकाका स्थानीय तहको नेतृत्वमा माओवादी शून्य अवस्थामा पुग्ने देखिएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot