Logo

सुरु भयो पढाइ विद्यार्थी भने रित्तै



काठमाडौं, जेठ ७। नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन छन् । सरकारी र निजी दुवैतर्फबाट उहिल्यै छापिनुपर्ने पाठ्यपुस्तक अझै छापिएका छैनन् ।

पुस्तक छाप्ने बेलामा सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र स्थानीय तह निर्वाचनको मतपत्र छपाइमा व्यस्त रहेकाले यस्तो अवस्था आएको हो । त्यस्तै निजी प्रकाशकले पनि कागजको मूल्य बढेको भन्दै पाठ्यपुस्तक छाप्न आनकानी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । यस्तो समस्या हरेक वर्ष दोहोरिँदै आएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् ।

अहिले सामुदायिक र निजी दुवै विद्यालयमा पाठ्यपुस्तकको चरम अभाव छ । वैशाखदेखि नै विद्यार्थी विद्यालय जान थालेका छन् तर पुस्तक पाएका छैनन् । जनक शिक्षाले यस वर्षका लागि कक्षा ४ देखि १० सम्मका विद्यार्थीको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको छ । बाँकी कक्षाका पुस्तक छाप्ने जिम्मा निजी मुद्रकलाई दिइएको छ । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार कक्षा ४ देखि १० सम्मका विद्यार्थीका लागि करिब एक करोड ८५ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने छ ।

अहिलेसम्म एक करोड ५० लाखको हाराहारीमा मात्रै पाठ्यपुस्तक छपाइ भएको केन्द्रले दाबी गरेको छ । तर केन्द्रको दाबीमा पनि पत्याउने भरपर्दो आधार छैन, किनभने उपत्यकाका विद्यार्थीका हातमा समेत अहिलेसम्म पाठ्यपुस्तक पुगेको छैन ।

तत्काल पाठ्यपुस्तक आउने छाँट नदेखेपछि अघिल्लो वर्षका विद्यार्थीको पाठ्यपुस्तक खोजेर पढाइलाई निरन्तरता दिनुपर्ने अवस्था देखिएको छ । जनक शिक्षाका तीनवटा छापाखानाबाट अहिले पाठ्यपुस्तक छपाइ भइरहेको छ । ती सबै छापाखानाको दैनिक पाठ्यपुस्तक छपाइ क्षमता एक लाख २५ हजार थान जति छ । छपाइ अवस्था हेर्दा बाँकी पाठ्यपुस्तक छाप्न कम्तीमा पनि जेठभर लाग्छ ।

पाठ्यक्रम विकास केन्द्रले सरकारी तथा निजी मुद्रकहरूलाई गएको माघ–फागुनमा मात्र प्रिन्ट रेडी कपी (पीआरसी) उपलब्ध गराएको थियो । केन्द्रले उपलब्ध गराएको पीआरसीबाट पाठ्यपुस्तक छपाइ गर्नुपर्ने हुन्छ । यसले गर्दा पनि पाठ्यपुस्तक छपाइमा समस्या भएको गुनासो मुद्रकहरूको छ ।

यसै वर्षदेखि कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएको छ । ती पाठ्यपुस्तक छपाइ गर्न झन् धेरै समय लाग्ने हुनाले विद्यार्थीको पढाइमा नकारात्मक प्रभाव पर्ने देखिएको आजको गोरखापत्र दैनिकमा खवर छ।



प्रतिक्रिया दिनुहोस्