Logo

वडाध्यक्षमा तीन महिला विजयी



स्याङ्जा, जेठ ७ । जिल्लाका ९७ मध्ये तीन वडाको अध्यक्षमा महिला उम्मेदवार विजयी भएका छन् । स्याङ्जाको कालीगण्डकी २, बिरुवा गाउँपालिका ३ र चापाकोट नगरपालिकाको ६ नं वडाको अध्यक्षमा महिला उम्मेदवार विजयी भएकी छन् भने कालीगण्डकी गाउँपालिका २ मा नेपाली कांग्रेसकी खगीसरा आले विजयी भएकी छन्।

कांग्रेस र जनमुक्ति पार्टीबीच गठबन्धन भएको उक्त वडामा विजयी भएकी आलेले कूल एक हजार ३३३ मत प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका श्रीराम पाण्डेले ४३१ मत प्राप्त गरेका छन् । उक्त वडामा कूल एक हजार ८९० मत खसेको थियो ।

त्यस्तै बिरुवा गाउँपालिका–३ को अध्यक्षमा माओवादी केन्द्रकी मनकुमारी थापा विजयी भएकी छन् । थापाले कूल ४९५ मत ल्याएर निर्वाचित भएकी हुन भने उनका प्रतिस्पर्धी एमालेका सन्तबहादुर आलेले ४१८ मत प्राप्त गरेका छन् ।

उता चापाकोट नगरपालिका–६ मा कांग्रेसकी तारादेवी पोखरेल २१ मतान्तरले निर्वाचित भएकी छन् । विजयी भएकी पोखरेलले ४३६ प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ज्ञानेश्वर बस्ताकोटीले ४१५ मत ल्याए ।

यसअघि २०७४ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा फेदीखोला, अर्जुनचौपारी र हरिनास गाउँपालिकाका एक÷एक वडाको अध्यक्षमा महिला निर्वाचित भएका थिए। फेदीखोला–५ मा देउकुमारी गुरुङ, अर्जुनचौपारी–४ मा जीतकुमारी चपाई र हरिनास–७ मा केशमाया थापा विजयी भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्