Logo

दलीय प्रणालीप्रति आम जनताको वितृष्णा लोकतन्त्रका लागि खतराको घण्टी होः चित्रबहादुर केसी



काठमाडौं, ७ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलीय प्रणालीप्रति आम जनताको वितृष्णा लोकतन्त्रका लागि खतराको घण्टी भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “काठमाडौं महानगरपालिका लगायतका स्थानमा स्वतन्त्र उम्मेदवारहरु अगाडि आइरहेका छन् । दलीय प्रणालीप्रतिको असन्तुष्टि, अविश्वास र वितृष्णा खतराको घण्टी हो । निर्वाचनमा कसले जित्यो, कसले हार्यो भन्ने भन्दा पनि दलीय व्यवस्थाको विकल्प छैन ।”
गठबन्धनले जनमोर्चालाई कति फाइदा भयो भन्ने पत्रकार धमलाको प्रश्नमा नेता केसीले थपे, “हामीलाई के फाइदा भयो र ? गठबन्धन नहुँदा पनि हाम्रो पार्टी जित्ने गरेको थियो कि थिएन ? पहिले जुन ठाउँमा जितेको हो, तिनै ठाउँ जितेको छ । ३ पालिकामा प्रमुख र उपप्रमुख ६ वटामा उपप्रमुख जितेको छ । हामीले चुनावमा बाजी मार्न गठबन्धन गरेको होइन, प्रतिगमन विरोधमा गठबन्धन बनाएको हो । पैसाको चलखेल छ । जनतामा पनि पार्टीको नीति, सिद्धान्त हेरेर मतदान गर्ने चलन छैन ।”
उनले स्थानीय तहको निर्वाचनको परिणाम हेरेर गठबन्धन नटुट्ने पनि बताए । केसीले भने, “गठबन्धन भने पनि नभने पनि राजनीतिक पार्टीहरु अनुशासनमा बस्दैनन् । जोसँग मिल्दा फाइदा हुन्छ, त्यही गर्छन् । पार्टीको कमान्डमा बस्दैनन् । कसले कसलाई धोका दियो भन्दा पनि नेपालमा गठबन्धन आवश्यक छ, कायम हुन्छ । किनभने गणतन्त्र असुरक्षित छ ।”



प्रतिक्रिया दिनुहोस्