Logo

मध्यपुर थिमी नगरपालिकाका विजयी उम्मेद्धवारहरु बधाई लिन प्रचण्ड निवासमा



काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको बताएका छन् । मध्यपुर थिमी नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेद्वारलाई शनिवार बिहान निवास खुमलटारमा बधाई दिँदै उनले यस्तो बताएका हुन् । उनले भने,“निर्वाचन अघि पनि जितेर आउने प्रतिवद्धता व्यक्त गरेर जानुभएको थियो, अहिले जितेर आउनुभएकोमा तपाईहरु सबैलाई बधाई र कार्यकालको शुभकामना छ ।”

उनले मध्यपुर थिमी भक्तपुरको एउटा ऐतिहासिक नगरपालिका भएको उल्लेख गर्दै जनताको पक्षमा हुने काम कारबाहीको प्रभाव र असर सिंगो भक्तपुरमा पर्ने बताए । मध्यपुर थिमीमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेहरुलाई पनि भोलिका दिन चुनौति दिन सकिने उनको धारणा थियो । दाहालले भने, “त्यहाँका जनताको विकास निर्माण, शिक्षा स्वास्थ्य रोजगारी, सफाई सूचना लगायतका तपाईंहरुका काम कारबाहीको प्रभाव सिंगै भक्तपुर, उपत्यका र देशैभरि पनि सन्देश दिने स्थानमा तपाईँहरु आउनुभएको छ ।”

दाहालले विजयी जनप्रतिनिधिहरुलाई अब राम्रो काम गर्ने चुनौति रहेको तर्फ सचेत पनि गराए । उनले मध्यपुर थिमीमा गठबन्धनको मर्मलाई पक्डिन सफल भएको देखिएको भन्दै अगाडि भने, “हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा शुरु गर्न खोजेको हो । मूलभूत रुपमा गठबन्धन सफल भएको हो । हामी यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने सङ्कल्प हो । यसमा हामी गठबन्धनका दलहरु दृढ छौं ।”



प्रतिक्रिया दिनुहोस्