Logo

काँग्रेसले ३ सय नघाउँदा एमाले २ सय नजिक



काठमाडौं, ७ जेठ । स्थानीय चुनावमा नेपाली काँग्रेसले ३०६ पालिका जितिसकेको छ । विराटनगर महानगरपालिकासहित काँग्रेसले देशका मुख्य उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा प्रमुख पदमा जित हासिल गरेको छ ।

काँग्रेस ललितपुर महानगरपालिकासहित १९ पालिकामा अगाडि छ । यो संख्या २०७४ मा जितेको पालिकाभन्दा बढी हो ।

नेकपा एमाले २ सय पालिका नघाउने सम्भावनासहित बढिरहेको छ । एमाले १८८ पालिका जित्दा १८ मा अगाडि छ । तर, २०७४ को स्थानीय चुनावको तुलनामा एमालेले कम पालिका जितेको छ ।

नेकपा माओवादी केन्द्रले ११९ पालिका जितेको छ । भरतपुर महानगरपालिकासहित माओवादी २ पालिकामा अगाडि छ ।

जसपाले २५ पालिका जितेको छ भने ८ पालिकामा अगाडि छ । नेकपा एस १७ पालिका जित्न सफल भएको छ । एस पोखरा महानगरपालिकासहित २ पालिकामा अगाडि छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १० पालिका जितेको छ । उसले ४ पालिकामा आफूलाई अगाडि राखेको छ ।

स्वतन्त्रका उम्मेदवारहरु काठमाडौं महानगरपालिका, धनगढी, धरान र जनकपुरधाम उपमहानगरपालिकाहरुमा अगाडि छन् । स्वतन्त्रले यसपटक उल्लेख्य संख्या जितेका छन् ।

यसपटक राप्रपाले पनि दमक, शंखरापुरलगायत महत्वपूर्ण पालिका जितेको छ । राप्रपाले अहिलेसम्म ४ पालिका जितेको छ ।

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरसहित ३ पालिका जितेको छ । रमेश खरेलको सुशासन पार्टी, सीके राउतको जनमत पार्टीले पनि बीऊ रोपेका छन् ।



प्रतिक्रिया दिनुहोस्