Logo

को हुन् बलात्कारको अभियोगमा पक्राउ परेका मनोज पाण्डे



काठमाडौं, ७ जेठ । यतिबेला सौन्दर्य प्रतियोगिताका आयोजकले ८ वर्ष अघि १६ वर्षीया किशोरीमाथि गरेको बलात्कारको घटना चासोमा छ । सडक देखि सदनसम्म यो विषयमा बहस र विरोध भइरहेको छ ।

सामाजिक सञ्जालमा एकजना युवतीले आफूमाथि ८ वर्ष अघि भएको बलात्कारको घटना खुलाएपछि यसमा चासो बढेको हो । घटना बाहिर आएको ३ दिनपछि प्रहरीले आरोपी मनोज पाण्डेलाई पक्राउ गरेको छ ।

प्रहरीले बौद्धबाट पाण्डेलाई पक्राउ गरेको हो । उनी सौन्दर्य प्रतियोगिताका आयोजक हुन् । मोडल ग्लोबल भीसाज कन्सल्टेन्सी सञ्चालन गर्दै आएका छन् । पाण्डेले मोडेलिङ र सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएका छन् । उनले सेलिब्रिटीहरुलाई त्यस्ता प्रतियोगितामा सहभागी गराउने गरेका छन् ।

पाण्डेसँग पूर्व मिस नेपालहरुको तस्बिर देखिन्छ । जसमा रुबी राणा, माल्भिका सुब्बालगायत छन् । यसकारण पनि उनको नेपाल सुन्दरी देखि विभिन्न सौन्दर्य प्रतियोगिताका विजेता तथा सहभागीहरुसँगको सम्पर्क बुझ्न सकिन्छ ।

प्रहरीले पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएको छ । घटनासँग जोडिएका अन्य व्यक्तिहरुलाई पनि अनुसन्धानको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्