Logo

अमेरिकी उपविदेशमन्त्रीको तिब्बती शरणार्थी शिविरमा दौडधूप



काठमाडौं, ७ जेठ । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले तिब्बती मामलाको महत्वपूर्ण जिम्मेवारी पनि सम्हाल्छिन् । वाइडेन सरकारले यो मामलालाई निकै महत्व दिएर जियालाई जिम्मेवारी दिएको हो ।

तीन दिन भारत भ्रमण गरी जियाले दलाई लामालाई धर्मशालामा भेटिन् । उनले भारतीय अधिकारी देखि भारतमा रहेका तिब्बती नेताहरुलाई पनि भेटेकी छिन् ।

भारतमा तीन दिन बसेर शुक्रबार अपरान्ह नेपाल आएकी उनले आज दिनभर शरणार्थी शिविरमा समय बिताइन् । सुरुमा जावलाखेलस्थित तिब्बती शरणार्थी शिविर पुगिन् जिया । त्यहीं दिवाभोज शरणार्थीहरुसँग गरिन् ।

तीन घन्टा लामो जावलाखेल बसाईंपछि उनी बौद्ध गइन् । बौद्धमा पनि साँझसम्म कार्यक्रम आयोजना भएको छ ।

जियाले भोलि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतसँग भेट्ने कार्यक्रम रहेको छ । उनले तिब्बती शरणार्थीको मानवअधिकारका बारेमा छलफल गर्ने बुझिएको छ ।

देउवा प्रधानमन्त्री हुँदा तिब्बती मामला समेत हेर्ने अमेरिकी उपमन्त्री नेपाल आउनुलाई अर्थपूर्ण मानिएको छ । केही वर्ष अघि देउवाले भारतमा तिब्बतका प्रवासमा रहेका प्रधानमन्त्री डा. लोब्साङ साङ्गेसँग एक कार्यक्रममा भेटेका थिए । यो घटनाले तरङ्ग नै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्