Logo

काठमाडौं महानगरपालिका २९ वडाको ६४ मत गायब



काठमाडौं, जेठ ८ । काठमाडौं महानगरपालिका वडा नं २९ को ६४ मत गायब भएको आरोप नेपाल कम्युनिष्ट पार्टी एमालेका पराजित उम्मेदवार शिवराम राजवंशीले लगाएका छन् । निर्वाचन आयोगले नेपाली कांग्रेसका उम्मेदवार कुश ढकालसहितको प्यानल विजयी भएको घोषणा शनिबार बिहान गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं जिल्ला सदस्य कृष्ण खरेलले दिएको जानकारी अनुसार काठमाडौं महानगरपालिका २९ वडामा ५ हजार आठ मत खसेको मुचुल्कामा देखिन्छ । अन्त्यमा ४ हजार ९ सय ४४ मत गन्दा मतपत्र सकियो । त्यसमध्ये २ सय ९ मत बद्दर भएको छ । बाँकी मत खोइ? यसको चित्तबुझ्दो जवाफ नदिइ निर्वाचन आयोगले एक पक्षीय ढंगले नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी घोषणा गरेको छ ।

हराएको मत स्पष्ट जवाफ नदिइ विजयी घोषणा नगर्न एमालेले निर्वाचन आयोगसँग आग्रह गरेको थियो । तर निर्वाचन आयोगले गोलमोटल जवाफ दिएर कांग्रेसका उम्मेदवारलाई विजयी घोषणा गरेको आरोप एमालेको छ ।

उम्मेदवार विजयी भएको घोषणा गरिसकेपछि निर्वाचन आयोगले उजुरी नलिने बताएको छ । अब न्यायका लागि राजवंशी अदालत जानुपर्ने हुन्छ । मत गणनास्थलमा निर्वाचन अधिकृतले जालझेलपूर्ण तरिकाले कांग्रेसका उम्मेदवार विजयी घोषणा गरेको भन्दै कानुन व्यवसायीसँग सल्लाह गरेर राजवंशी न्यायका लागि सोमबार अदालत जाने भएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्