Logo

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी



काठमाडौं, जेठ ८। घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्न सक्ने नेपाल राष्ट्र बैंकको एक प्रतिवेदनले औंल्याएको छ ।

बैंकले बिहीवार सार्वजनिक गरेको वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदनमा पछिल्ला महीनामा आयातमा भएको वृद्धिका कारण बाह्य क्षेत्रको अवस्था दबाबमा रहेको भन्दै चालू खाता घाटा र विदेशी मुद्राको सञ्चिति घट्दा समग्र वित्तीय क्षेत्रको स्थायित्वमा प्रभाव पार्न सक्ने औंल्याइएको छ ।

कोभिड–१९ महामारीबाट नेपाली अर्थतन्त्र पुनर्उत्थानको चरणमा रहेको र आर्थिक गतिविधि विस्तार हुँदै गए पनि अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यले मुद्रास्फीतिलाई थप दबाब दिने आकलन गरिएको छ ।

राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६।५ प्रतिशतले घटेर २०७८ चैत मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ ।

वित्तीय क्षेत्रको विकास उत्साहजनक हुँदा वित्तीय पहुँचमा वृद्धि भएको, धेरैजसो स्थानीय तहमा बैंकको शाखा विस्तार भएको, इलेक्ट्रोनिक बैंकिङ उपकरण, र शाखारहित बैंकिङ जस्ता नवीन विधिहरू बढेको भए पनि समानुपातिक वितरण भने हुन नसकेको प्रतिवेदनले औंल्याएको छ ।

कोभिड महामारीका कारण राष्ट्र बैंकले दिएको ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका नियामकीय छूटका कारण बैंकमा खराब कर्जा स्थिर रहेको र यो सुविधा हटेपछि खराब कर्जा बढाउने केही जोखिम निम्त्याउन सक्ने पनि चेतावनी दिइएको छ ।

गैर–बैंक वित्तीय क्षेत्र विशेषगरी बीमा र सहकारी विस्तार हुँदै गएको, जीवन र निर्जीवन बीमा दुवैको आकार वृद्धि भएको र सामाजिक सुरक्षा कोष शुरु भए पनि सहकारी क्षेत्रको नियमित रूपमा अद्यावधिक गरिएको तथ्यांकको अभाव रहेको र यसको प्रभावकारी नियमन नभएकाले सहकारीबाट समग्र वित्तीय स्थायित्व जोखिममा पर्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा विशेषगरी बचत तथा ऋण सहकारीको अनुगमनलाई प्रभावकारी बनाउन समेत सुझाव दिइएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्