Logo

स्वर्ग जान नर्कको टिकट काटेका माधव नेपाललाई एमालेले एक सुकामा पनि लिँदैनः सूर्य थापा



काठमाडौं, ८ जेठ । नेकपा एमालेका नेता सूर्य थापाले आफ्नो पार्टीको कन्तबिजोग, हरिबिजोग, ऋषिबिजोग केही पनि नभएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने, “स्थानीय तहको निर्वाचनमा जनमतको हिसाबले नेकपा एमाले कमजोर भएको होइन । जनताले सबभन्दा बढी भोट एमालेलाई नै दिएका छन् । ५ दलले गठबन्धनलाई कसिलो बनाएकाले केही ठाउँमा हामीले हारेका हौं । एमालेको कन्तबिजोग, हरिबिजोग, ऋषिबिजोग केही भएको होइन ।”
निर्वाचनमा केही ठाउँमा असफल हुँदैमा केपी ओलीले अध्यक्ष पद छाड्नु नपर्ने पनि थापाको जिकिर छ । उनले भने, “अहिले पनि नेकपा एमालेलाई ५० लाख जनताले मतदान गरेका छन् । यो मतादेश, जनादेशलाई सम्मान गरेर केपीले देशको नेतृत्व गर्ने हो । कतिपयले केपी ओलीले छाडिदिए हुन्थ्यो भन्ने इच्छा गरेका होलान् । उहाँले छाडे हाइसन्चो होला, कब्जा गरौंला भन्ने दिवास्वप्न देख्नुहुन्न ।”
नेकपा एमालेलाई प्रचण्ड र माधव नेपालको आवश्यकता नरहेको पनि उनले बताए । उनले भने, “माधव नेपाल पनि कुनै कुरा गर्ने हो ऋषिजी ? घिनलाग्दो कुरा नगर्नु न बिहान बिहानै । उहाँ त शेरबहादुर देउवाका कान्छी औंला हो । हामी हिलो र धुलो टकटकाएर उठ्छौं । तर हामीलाई माधव नेपाल, प्रचण्डको सहयोग चाहिएको छैन । एमालेले माधव नेपाललाई एक सुकामा दिए पनि लिनुहुन्न । उहाँले गर्न नहुने सबै हर्कत गरिसक्नुभयो । प्रचण्डको पुच्छर समाएर बैतरणी हुँदैन भन्नेमा नेकपा एमाले प्रस्ट छ ।”
आफ्नो जिल्ला प्युठानमा माधव नेपालको पार्टी शून्य भएको पनि उनले बताए । थापाले थपे, “मेरो प्युठान, अर्घाखाँचीमा माधव नेपालको पार्टी आलु आलु छ । अब कांग्रेसले कांग्रेसलाई भोट हालेको स्थितिमा कहीं पनि जित्दैन । माधव र प्रचण्डले स्वर्ग जान नर्कको टिकट काटेका हुन् । शेरबहादुर देउवाको हुक्के, बैठके भएर कांग्रेसको कृपामा केही सिट जितेका हुन् । प्रतिपक्षविरुद्ध गठबन्धन गरेर बाघ मार्यौं भनिरहेका छन् । माधव नेपाल, प्रचण्ड, चित्रबहादुर केसीसँग वार्तासार्ता पानी अनलाइनको कुरा हो ।”
एमाले नेता थापाले लुम्बिनी र गण्डकीको प्रदेश सरकार अनि केन्द्रमा कांग्रेसको नांगो दलाली गरेर मोहनविक्रम सिंह र चित्रबहादुर केसीले केही सिट जितेको पनि आरोप पनि लगाए । उनले भने, “मेरो पालिका झिमरुखमा ३० वर्ष राइदाइँ र दलमलन गरेको, यहाँका रुखपात, ढुंगामाटो मसाल हुन् भन्ने राजमोले कांग्रेससँग मिलेर पनि जित्न सकेन । झिमरुखमा २ वडा पाएको छ । अब झिमरुखमा मसाल उँधौली लाग्यो । त्यसैले मोहनविक्रम सिंह रुवाबासी गरिरहेका छन् । मसालले अघिल्लो संघको निर्वाचनमा वाम गठबन्धनको भूलभूलैयामा लाभ उठायो । ८४ वर्षे बूढाको दाल, चामल चलोस् भनेर हामीले सहयोग गरेको हो । अब त्यो सम्भावना छैन ।”



प्रतिक्रिया दिनुहोस्