Logo

कालिका मन्दिर चिनाउन सङ्ग्रहालय



काठमाडौँ,८ जेठ । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा चिनिँदै आएको बागलुङ कालिका मन्दिरको पहिचान, प्रचार–प्रसार र पुरातात्विक वस्तुको संरक्षण गर्नका लागि सङ्ग्रहालय निर्माण थालिएको छ ।

कालिका मन्दिर भगवती मन्दिरको प्रवेशद्वारमा दुईतले सङ्ग्रहालय भवन निर्माण थालिएको छ । कालिका मन्दिरसँग जोडिएको पुरातात्विक वस्तु, कालिका मन्दिरको इतिहासलगायतका जानकारी सङ्ग्रहालयमा राखिने छ । सङ्ग्रहालय निर्माणपश्चात कालिका मन्दिर चिनाउन थप सहज हुने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

“सङ्घीय सरकारको योजनामा सङ्ग्रहालय बन्नका लागि शनिबार शिलान्यस गरेका छौँ, कालिका मन्दिरको पहिचान, मन्दिरको थप रोचक पक्षलाई उजागर गर्न सङ्ग्रहालय अवलोकन गर्न सकिन्छ”, उनले भने, “मन्दिरको मेला र निर्वाचनका कारण निर्माण गर्न केही ढिलाइ भएको हो, जतिसक्दो छिटो सङ्ग्रहालय तयार हुनेछ ।” शनिबार बागलुङ नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख वसन्तकुमार श्रेष्ठले सङ्ग्रहालयको शिलान्यास गरेका छन् ।

दुई तलाको पक्की भवन निर्माणपश्चात यसलाई सङ्ग्रहालयका रूपमा अगाडि बढाइने छ । सङ्ग्रहालय भवन निर्माण गर्न सङ्घीय सरकारअन्तर्गत सघन तथा भवन डिभिजन कार्यालय बागलुङले रु ९० लाख विनियोजन गरेकामा रु ६१ लाखमा ठेक्का सम्झौता भएको छ । ठेक्का मिति यही असारसम्म रहेको छ । माछापुच्छ्रे निर्माण सेवाले उक्त भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि कलाधर आचार्यले जानकारी दिए। रासस



प्रतिक्रिया दिनुहोस्