Logo

तुलसीपुर उपमहानगनगरमा एमालेको अग्रता



दाङ, जेठ ८ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिएका छन् । उनले हालसम्म १५ हजार ४०५ मत ल्याएका छन भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत ल्याएका छन् ।

उपप्रमुखमा पनि एमालेको अग्रता छ । एमालेका तर्फबाट उपप्रमुखका उम्मेदवार स्यानी चौधरीले १४ हजार ६१५ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानाले १० हजार ८९२ मत प्राप्त गरेका छन् ।

यसैबीच वडा नं ७ र ९ मा कांग्रेस विजयी भएको छ । वडा नं ७ मा कांग्रेसका रामबहादुर जिसी दुई हजार ४०५ मत प्राप्त गरेर विजयी भएका छन भने उनका निकटतम् प्रतिद्वन्दी एमालेका डिल्लीराज भण्डारीले एक हजार ७९२ मत ल्याएका छन् ।

त्यस्तै वडा नं ९ मा कांग्रेसका घनश्याम ढकाल एक हजार नौ मत प्राप्त गरी विजयी भएका छन भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका वामदेव न्यौपानेले ९८६ मत प्राप्त गरेका छन्। अहिलेसम्म तुलसीपुरका नौवटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । अहिले तुलसीपुर १०, ११ र १२ को मतगणना भइरहेको छ ।

तुलसीपुरमा यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजय हासिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ जनाले मतदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्