Logo

छिन्नमस्तामा २५ वर्षीय चौधरी निर्वाचित



सप्तरी ८ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित भएको हो ।

निर्वाचन अधिकृत सूर्यराज घिमिरेका अनुसार उहाँले दुई हजार ८९५ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का सत्यनारायण यादवले एक हजार ७६६ मत ल्याए । सो गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डलले ८०० र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख प्रभाकर यादवको ८९८ मत मात्र ल्याए।

लोसपाका चौधरी लोकप्रिय मतका साथ अध्यक्षमा निर्वाचित हुनु भए पनि उपाध्यक्षसहित वडाध्यक्ष लोसपाले जित्न सकेन । उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का राजुदेवी यादवले दुई हजार ४७२ मत प्राप्त गरेर निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमिलादेवी साहले एक हजार ५९५ मत ल्याए भने । एमालेकी ललितादेवी मेहताले एक हजार ५१३ मत ल्याउँदा लोसपाका उषाकुमारी मण्डल र जसपाका आशा साहले समान एक हजार ३८४ मत ल्याए । मण्डल गत स्थानीय तह २०७४ को स्थानीय तहको निर्वाचनमा एक हजार ७१० मत ल्याउँदै उपाध्यक्षमा निर्वाचित भएका थिए । कूल १७ हजार ७५७ मत रहेको छिन्नमस्तामा १३ हजार ७४४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सात वडा रहेको गाउँपालिकामा एमाले र माओवादीले दुई–दुई, जसपा, नेकपा (एकीकृत समाजवादी) र जनमतले एक÷एक वडाध्यक्षमा जित हासिल गरेको छ ।

वडा नं १ बाट ६८३ मत ल्याएर माओवादी केन्द्रका ललनप्रसाद यादव, २ बाट ३४० मत ल्याएर जनमतका सिकेन्द्रकुमार साह, ३ बाट ८९२ मत ल्याएर जसपाका विजयकुमार यादव, ४ बाट ३९९ मत ल्याएर एकीकृत समाजवादीका सूर्यनारायण यादव, ५ बाट ७२८ मत ल्याएर एमालेका जयप्रकाश ठाकुर, ६ बाट २९४ मत ल्याएर माओवादीका कपिलेश्वर साह, ७ बाट ७१४ मत ल्याएर एमालेका अच्छेलाल यादव निर्वाचित भएका छन् ।

जिल्लामा हालसम्म घोषित १६ स्थानीय तहको परिणामअनुसार कांग्रेसले सर्वाधिक पाँच नगरप्रमुखमा जित हासिल गरेको छ । यसैगरी जसपाले तीन, एमाले, लोसपा र जनमत पार्टीले दुई–दुई, एकीकृत समाजवादी र माओवादी केन्द्रले एक–एक स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ । बाँकी जारी रहेको मतगणनामा रुपनी गाउँपालिकामा लोसपा र डाक्नेश्वरी नगरपालिकामा एमालेले अग्रता कायम राखेको छ । रुपनीमा जसपा र डाक्नेश्वरीमा कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्