Logo

इटहरी उपहानगरपालिकामा पहिलोपल्ट कांग्रेसको नेतृत्व



इटहरी, जेठ ८ । प्रदेश नं. १ का दुईवटा उपमहानगरपालिकामध्ये इटहरीमा २०४६ सालपछि पहिलोपल्ट नेपाली कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको छ। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी भएसँगै पहिलोपल्ट कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको हो।

गाउँ विकास समिति, नगरपालिका हुँदा र उपमहानगरपालिका भएर २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेले नेतृत्व गर्दै आएको थियो। यसपटक भने कांग्रेसका पौडेलले एमालेका मेयरका उम्मेदवार याम सुब्बालाई पाँच हजार १८ मतले हराएर विजयी भएका हुन्। सुब्बाले २८ हजार ३१ मत ल्याए।

मेयरमा विजयी पौडेल कांग्रेस इटहरी उपमहानगर सभापति हुन्। उनले असोजमा भएको कांग्रेसको १४ औं महाधिवेसनबाट सभापतिमा तेस्रो पटक जितेका हुन्। उनको राजनीतिक यात्रा भने एमाले निकट अनेरास्ववियूबाट प्रारम्भ भएको थियो। २०५७ सालमा भएको स्ववियू निर्वाचनमा अनेरास्ववियू त्यागेर कांग्रेस प्रवेश गरी जनता बहुमुखी क्याम्पस इटहरीमा स्ववियू सभापति बनेका थिए।

इटहरी उपमहानगरपालिकाको उपमेयरमा भने एमालेका तर्फबाट संगीता चौधरी विजयी भएकी छिन्। उनले ३२ हजार ४२६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका केशवकुमार विष्टले १८ हजार ३१ मत ल्याएका छन्। उपमेयरमा विजयी चौधरी वडा नं. १५ मा नीजि स्कुल सञ्चालन गर्दै आएकी छिन्। उनी इटहरी एमाले अखिल नेपाल महिला संघकी सहसचिव समेत हुन्।



प्रतिक्रिया दिनुहोस्