
काठमाडौं, ८ जेठ । किशोरी बलात्कारको आरोपमा १ लाख जरिवाना र ९ वर्ष जेल सजायको फैसला सुनाएका युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत स्थानीय तहको निर्वाचनको लागि ४० दिने म्यादी प्रहरी भएका युवक बिदाई समारोहबाट पक्राउ परेका हुन् ।
उनी बलात्कारी भएको म्यादी प्रहरी भएर ४० दिनको कार्यकाल सकाएपछि मात्र प्रहरीले बल्ल थाहा पाएको थियो ।
३३ वर्षीय कमल प्रसाद पोखरेलमाथि बाख्रा चराउन गएकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । उदयपुरको ताप्लीबाट पोखरेलको परिवार बलात्कारको अभियोग लागेपछि बसाइसरेर भद्रपुरमा बस्दै आएको छ ।
पोखरेलकी बहिनीले टिकटकमा ‘मेरो दाई म्यादी प्रहरीमा’ राखेपछि बलात्कृत किशोरीले उनको सुइको पाइन् र प्रहरीलाई खबर गरिन् । त्यसपछि पोखरेल पक्राउ परे । अहिले उनलाई उदयपुरमा राखिएको प्रहरीले जनाएको छ ।