Logo

गोपाल हमालः राष्ट्रिय खेलाडी देखि बाकस व्यापारी, अभियन्ता हुँदै मेयरसम्म



काठमाडौं, ८ जेठ । धनगढी उपमहानगरपालिकाको स्वतन्त्र उम्मेदवार हुँदै मेयरमा निर्वाचित गोपाल हमाल यतिबेला चर्चामा छन् । उनले सत्ता गठबन्धनका उम्मेदवारलाई झण्डै दोब्बर मतान्तरले पराजित गरे ।

हमाल २०७४ मा रोचक प्रतिष्पर्धामा काँग्रेसका नृपबहादुर वडसँग पराजित भएका थिए । यसपटक भने उनले वडलाई प्रतिष्पर्धामा नजिक आउनै दिएनन् ।

१६ जेठ २०२० मा कैलालीको तत्कालीन मनिकापुर गाविसको झन्झटपुरमा जन्मेका हमालले धनगढीमा हुर्के बढेका थिए । नी त्रिनगर माध्यमिक विद्यालयमा अध्ययन गरी कैलाली बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरे ।

बहुमुखी प्रतिभाका धनी हमाल भारत्तोलनका राष्ट्रिय खेलाडी पनि हुन् । उनी युवावस्थामा खेलमै सक्रिय रहे । सामाजिक कार्यमा पनि अगाडि नै हुन्थे । धनगढीमा ब्लड बैंक स्थापनाका लागि सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्दा नेतृत्वदायी भूमिका निभाए ।

हमालले सुदूरपश्चिममा विभिन्न अभियान चलाइरहे । सुन्दर सुदूरपश्चिम देखि गन्तव्य सुदूरपश्चिम अभियान चलाए । सुदूरपश्चिमको फरक पहिचान दिलाउन उनको महत्वपूर्ण भूमिका रह्यो ।

कैलाली उद्दोग वाणिज्य संघको अध्यक्ष बनेर हमालले उदाहरणीय कार्य गरे । उनले विकासका लागि सामाजिक क्षेत्रबाट आफूलाई सक्रिय बनाइरहे । हमालले कपडा बैंक र निःशुल्क महाप्रस्थान यान पनि सञ्चालन गरे । दिनेश ग्रुपमार्फत् ६ सय बढीलाई रोजगारी दिन भूमिका खेले ।

टिनको बाकस बनाउने व्यवसायबाट हमालले काम थालेका थिए । उनले सयौंलाई रोजगारी दिन सके । धनगढीमै बसेर त्यहाँको विकासमा केन्द्रित रहे । यसकारण त्यहाँका जनताले भारी मतका साथ जिताए ।



प्रतिक्रिया दिनुहोस्