Logo

धरानदेखि धनगढीसम्म स्वतन्त्र



काठमाडौं, जेठ ९ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक हुँदै छ । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहदेखि धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार बनेका हर्क साम्पाङ र धनगढीका गोपाल हमालसम्म चर्चामा छन् ।

साम्पाङले धरान उपमहानगरको प्रमुखमा र हमालले धनगढी उपमहानगरको प्रमुखमा आइतबार दिउँसो नै जित हात पारिसकेका छन् भने काठमाडौं महानगरको मतगणना जारी छ ।

धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार साम्पाङले राजनीतिक दल र दलका उम्मेदवारलाई पराजित गर्दै जित निकालेका हुन् । उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पराजित गरे । साम्पाङले २० हजार ८ सय २१ मत प्राप्त गर्दा किशोरले १६ हजार ५९ मत ल्याएका हुन् ।

यसैगरी, धनगढी उपमहानगरपालिकामा समेत आँप चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमाल निर्वाचित बन्दा कांग्रेसका उम्मेदवार नृप बड पराजित भए । हमालले २६ हजार ८ सय ६५ मत ल्याउँदा बडले १४ हजार ८ सय १७ मत मात्र ल्याएर पराजित बनेका हुन् ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका साहले ५० प्रतिशतभन्दा बढी मतगणना सकिँदा कांग्रेस र एमालेका उम्मेदवारसँग फराकिलो मतान्तर कायम गरेका छन् ।

महोत्तरीको बर्दिवास, जनकपुरधाम उपमहानगरपालिका प्रमुखमा, माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा, जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा, दाङको शान्तिनगर गाउँपालिका २ मा, ललितपुर महानगरपालिकामा, जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ मा,

पाँचथरको फालेलुङ वडा नम्बर १ मा, बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर ३ मा, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा, मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १८ मा, भोजपुरको साल्पासिलिछो गाउँपालिकामा, हुम्लाको चेफ्ली गाउँपालिकामा, कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ मा, सिरहाको सिरहा नगरपालिका २१ मा, मनाङको मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्षमा, बाजुराको बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा र डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्