Logo

बिदाको दिन चलाएका सरकारी सवारीसाधन नियन्त्रणमा



काठमाडौं, जेठ ९ । सार्वजनिक बिदाका दिन सञ्चालन गरिएका सरकारी नम्बर प्लेटका सवारीसाधन धमाधम कारबाहीमा पर्न थालेका छन् ।

सरकारले यही जेठदेखि हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार पनि बिदा दिने निर्णयसँगै सार्वजनिक बिदाको दिन पनि सरकारी नम्बर प्लेटका सवारीसाधनको प्रयोग बढेसँगै ट्राफिक प्रहरीले निगरानी बढाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जीव शर्मा दासले बिदाको दिन बिना पास सञ्चालन गरिएका सरकारी नम्बरका सवारीसाधन नियन्त्रणमा लिइरहेको बताएका छन् ।

कार्यालयले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णयपछि सरकारी नम्बर प्लेटका सवारीसाधनको प्रयोग बढेकाले निगरानी बढाएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत बिहीबार सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

जिल्ला सुरक्षा समितिको बैठकले अत्यावश्यक भए जिल्ला प्रशासन कार्यालयबाट पास जारी गरेर मात्र सरकारी नम्बर प्लेटका सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो । बैठकले पास नलिई र अत्यावश्यकबाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन भएको थियो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबार र आइतबार गरेर दर्जन बढी सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ । ‘अहिले सुरुसुरु भएकाले दिनभरि नियन्त्रणमा लिएर एकपटकका लागि छाड्ने गरेका छौं, अब बिस्तारै नियमअनुसार कारबाही गर्छौं,’ कार्यालयका एक अधिकारी भन्छन् ।

ट्राफिक प्रहरीले सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटका सवारीसाधन सञ्चालन गर्नैपर्ने भएमा पास लिएर मात्र सञ्चालन गर्नसमेत अनुरोध छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्