Logo

आकार बढाएर लोकप्रिय बजेट ल्याइँदै



काठमाडौं, जेठ ९ । आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । केही लोकप्रिय कार्यक्रम राखेर जेठ १५ मा संसद्मा बजेट प्रस्तुत गर्नेगरी अर्थ मन्त्रालयले काम अन्तिम चरणमा पुर्‍याएको हो ।

आगामी वर्षका लागि सिलिङ १७ खर्ब २३ अर्ब रुपैयाँ रहेकाले त्यही आसपासमै रहेर बजेट निर्माण गरिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । बजेटको स्रोतमा साढे १३ खर्बभन्दा बढी राजस्वबाट जोहो गर्ने र वैदेशिक ऋणबाट साढे ३ खर्ब उठाउने योजना छ ।

चालू आवका लागि सरकारले १६ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो । यो बजेट अहिलेसम्म ५७ प्रतिशत मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ । बजेट खर्च प्रभावकारी नहुनुका पछाडि केही संरचनागत र कानूनी झन्झटको हात रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

आगामी बजेट चालू वर्षको तुलनामा डेढ खर्ब बढाएर ल्याउने तयारी अर्थले गरिरहेको छ । आगामी मङ्सिरमा हुने संघीय र प्रदेशको चुनावलाई ध्यानमा राखेर अर्थमन्त्री शर्माले अलिकति लोकप्रिय बजेट ल्याउन कसरत गरिरहेको अर्थका उच्च अधिकारी बताउँछन् ।

बजेट निर्माणमा राष्ट्रिय योजना आयोगको भूमिका महत्त्वपूर्ण हुन्छ । आयोगले दिएको सिलिङमै रहेर अर्थ मन्त्रालयले बजेट बनाउने हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेलले आगामी आवको बजेट वितरणमुखी कार्यक्रम र महिलासँग राज्य कार्यक्रमलाई समेटेर ल्याउने बताएका छन् ।

उनका अनुसार आगामी वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ताका कार्यक्रम बढाउँदै लैजाने योजना छ । विपन्न, असहाय र आर्थिक स्थिति कमजोर भएकालाई सहायता दिने योजना छ । महिलाको क्षमता विकास, पछाडि परेका समुदायमा पैसा वा सुविधा दिँदा विवाद गर्नु आवश्यक नरहेको बरु त्यसो गर्दा लक्षित वर्गमा थप सेवासुविधा पुग्ने पौडेलको भनाइ छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम