Logo

पम्प स्टोरेज आयोजनाबाट पछि हट्यो प्राधिकरण



काठमाडौं, जेठ ९ । नेपाल विद्युत् प्राधिकरण पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने निर्णयबाट तत्काललाई पछि हटेको छ । प्राधिकरणले दुईओटा पम्प स्टोरेज आयोजना बनाउने प्रक्रिया अघि बढाइसकेको थियो । अहिले आएर प्राधिकरण ती आयोजना नबनाउने मनस्थितिमा पुगेको हो ।

प्राधिकरणले पहिलोपटक कास्कीमा रहेको बेगनास र रूपा ताललाई प्रयोग गरेर बेगनास–रूपा पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अगाडि बढायो । त्यसका लागि उसले विद्युत् विकास विभागबाट २०७४ कात्तिक २७ गते सर्वेक्षण अनुमति पाएको थियो । १५० मेगावाट क्षमतामा बनाउन लागिएको उक्त आयोजनाको सर्वेक्षण अनुमति पाएको साढे ४ वर्ष भइसकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिलो कार्यकालमा आफ्नो ड्रिम प्रोजेक्टका रूपमा उक्त आयोजना अघि सारेका थिए ।

घिसिङको पहिलो कार्यकाल सकिएपछि प्राधिकरणमा हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक भएर आए । उनले बेगनास–रूपा पम्प स्टोरेजलाई त्यति प्राथमितामा राखेनन् । तर, उनले मकवानपुर जिल्लामा रहेको कुलेखानी बाँधलाई नै प्रयोग गरेर १०० मेगावाटको कुलेखानी सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अगाडि बढाए । त्यसका लागि विद्युत् विकास विभागले २०७७ चैतमा सर्वेक्षण अनुमति दियो ।

उक्त आयोजनाको सर्वेक्षण अनुमति पाएको पनि १ वर्ष भइसकेको छ । अहिले दुवै पम्प स्टोरेज आयोजना अघि नबढाउने मनस्थितिमा प्राधिकरण पुगको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ तत्काललाई पम्प स्टोरेज आयोजना नबनाउने बताउँछन् । आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्