Logo

अचाक्ली बढ्यो इन्धनको मूल्य



काठमाडौं, जेठ ९ । नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ। निगमले एक साताकै अवधिमा दोस्रोपटक मूल्यवृद्धि गरेको हो। निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय रूपैयाँ बढाएको छ। त्यसैगरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन (आन्तरिकतर्फ) लिटरमा १० रूपैयाँ मूल्य बढाइएको छ। बढेको मूल्य आइतबार रातिबाट कार्यान्वयनमा आएको छ ।

ग्यासको मूल्य सिलिन्डरमा १ हजार ६ सय रूपैयाँबाट बढाएर १ हजार ८ सय रूपैयाँ पुर्‍याइएको छ। निगमले ग्यासमा प्रतिसिलिन्डर १ हजार ५० रूपैयाँ १८ पैसा घाटा बेहोर्दै आएको थियो। निगमको ग्यासमा लागत प्रतिसिलिन्डर २ हजार ६ सय ५० रूपैयाँ १८ पैसा छ। मूल्य बढाउँदा पनि निगमलाई ग्यास सिलिन्डरमा अझै ८ सय ७९ रूपैयाँ ७५ पैसा घाटा छ ।

त्यसैगरी पेट्रोलको मूल्य लिटरको १ सय ८०, डिजेलको मूल्य १ सय ६३ रूपैयाँ र हवाई इन्धनको मूल्य लिटरको १ सय ६६ रूपैयाँ पुगेको छ। भाउ बढाउँदा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ ६४ पैसा र डिजेलमा २६ रूपैयाँ ८२ पैसा घाटा रहेको प्रवक्ता विनितमणि उपाध्यायले बताए। मूल्यवृद्धि गर्दा पनि १५ दिनमा ३ अर्ब ३५ करोड रूपैयाँ घाटा हुने निगमले जनाएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्