Logo

“आयल निगमको निजीकरणका लागि पेट्रोलमा एक हप्तामै २० रुपियाँ बढाउनु अपराध हो”



काठमाडौं, ९ जेठ । उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको रणनीति नै नेपाल आयल निगमको निजीकरण गर्नु भएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बानियाँले भने, “अहिलेका वाणिज्य तथा आपूर्ति मन्त्रीको मिसन नै नेपाल आयल निगमको निजीकरण गर्नु हो । निजी क्षेत्रले पेट्रोल प्रति लिटर २५० रुपियाँ नपुर्याईकन लिने पक्षमा छैन । राज्यले इन्धनको बजार खुला छाडेर निजी क्षेत्रलाई दिनु नागरिक विरुद्धको अपराध हो ।”
मन्त्री बडू इमानदार भए पनि उनीमार्फत गलत काम गर्न खोजिएको उनको आरोप छ । बानियाँले थपे, “पेट्रोलमा १० रुपियाँ प्रतिलिटर कहिल्यै बढेको थिएन । नियम अनुसार १५ दिनमा एक पटक, त्यो पनि ३ देखि ६ रुपियाँभन्दा बढी बढाउन पाइँदैन । तर सरकारले एक हप्तामै २० रुपैयाँका दरले बढाएर बजारचक्र बिगारिदिएको छ । इमानदार मान्छेमार्फत गलत काम गर्न खोजिएको छ ।”
मूल्यवृद्धिले उपभोक्ताको ढाड सेक्दा पनि तपाईंहरु किन सडकमा आउनुभएन भन्ने पत्रकार धमलाको प्रश्नमा बानियाँले थपे, “सडकमा आएर के गर्ने ? यो ढुंगामुडा गर्नुपर्ने कुरा नै होइन । संयुक्त राष्ट्रसंघ स्वच्छ बजार र मूल्य नियन्त्रणको जिम्मामा सरकारको हो भनेको छ । अब सरकारले नै आफ्नो काम नगर्ने भयो । अहिलेको मूल्यवृद्धिमा रसिया-युक्रेन द्वन्द्वको कारण भन्छ । हामीले त्यहाँबाट किनेर ल्याएको हो र !”



प्रतिक्रिया दिनुहोस्