Logo

विश्वका १४ देशमा फैलियो ‘मंकीपक्स’ भाइरस



काठमाडौं, जेठ ९ । केही दिनयता विभिन्न १४ देशमा ‘मंकीपक्स’ भाइरसको संक्रमण फेला परेको छ । ‘मंकीपक्स’ भाइरस फैलिएका देशहरु अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, यूके, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटाली र स्वीडेनमा संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठन९डब्लूएचओ० ले जनाएको छ ।

डब्लूएचओका अनुसार मंकीपक्स भाइरस एकबाट अर्को व्यक्तिमा घाउ, हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिन्छ । त्यस्तो तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्न सक्ने जनाइएको छ । त्यस्तै, संक्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भाइरस सर्न सक्छ । संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्ने डब्लूएचओले जनाएको छ ।

यो भाइरस ८० भन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको र शंकास्पद ५० बारे अनुसन्धान भइरहेको संगठनले जनाएको छ । मंकीपक्स संक्रमण भएका व्यत्तिहरुमा ज्वरो आउने, जीउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने गर्छ । संक्रमण भएको केही दिनमा अनुहारमा बिमिराहरू देखा पर्न थाल्छन् र शरीरका अन्य भागमा फैलिने यस्ता खाले लक्षण देखा पर्ने संगठनले जनाएको छ ।

खासगरी हात र गोडाका पैतालामा बिमिराहरू बढी देखिन्छ । केही दिन निकै चिलाउने वा दुख्ने भए पनि बिमिराहरू बिस्तारै हराउँछन् । तर बिमिरा आएका ठाउँमा दाग भने रहिरहन सक्छ । यसको संक्रमण भएका दसमध्ये एक जनाको ज्यान जान सक्ने वैज्ञानिकहरूको भनाइ छ ।

पश्चिम अफ्रिकामा मंकीपक्सका कारण मानिसको मृत्यु भएको तथ्यांक छ । यो भाइरस एक मानिसबाट अर्को मानिसमा सहज रूपमा भने सर्दैन, जसका कारण मंकीपक्स कोरोना जस्तो आम रूपमा फैलने सम्भावना देखिन्न । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्