Logo

न्यूयोर्क टाइम्सले लेख्योः विहारले रक्सीमा प्रतिबन्ध लगाउँदा पिउनेहरु नेपालतिर



काठमाडौं, ९ जेठ । भारतको विहार राज्यमा रक्सीमा प्रतिबन्ध लागेपछि पिउनेहरु नेपालतिर जाने गरेको समाचार रिपोर्ट न्यूयोर्क टाइम्समा प्रकाशित भएको छ । टाइम्सको अनलाइन संस्करणमा समेत प्रकाशित भएको रिपोर्टमा रक्सी पिउन हुल बाँधेर भारतबाट नेपालमा जाने गरेको उल्लेख गरेको छ ।

नेपालसँग खुल्ला सीमा रहेको भन्दै न्यूयोर्क टाइम्सको रिपोर्टमा दिउँसो नेपालबाट भारतमा सस्तोमा सामान खरिद गर्न जाने महिलाहरुको भीड देखिने गरेको भनिएको छ । तर, रात पर्न लागेपछि पुरुषहरुको भीड नेपालतर्फ जाने गरेको उल्लेख छ । उनीहरु खाली हात नेपाल छिर्ने गरेको भनिएको छ ।

नेपालतर्फबाट रक्सी पिएर साँझ ९ बजे अगावै भारततर्फ फर्कने गरेको समाचारमा उल्लेख छ । यसरी खुल्ला सीमाले मानिसहरुले आर्थिक छनोट पनि गर्न पाइरहेको तर्क गरिएको छ । भारतमा सवारी साधनको सामान सस्तो हुने गरेको र नेपालमा पेट्रोलियम पद्धार्थ सस्तो हुने गरेको भनिएको छ ।

खुल्ला सीमाबाट रक्सी पिउनेहरुले पनि फाइदा लिइरहेको भनिएको छ । १० करोड जनसंख्या भएको विहारमा ४०० माइल भन्दा बढी सीमा नेपालसँग जोडिएको छ जहाँ सन् २०१६ यता नितिश कुमार सरकारले रक्सीमाथि प्रतिबन्ध लगाएको छ । जसका कारण नेपालको सीमातर्फ रक्सी पसलहरु बढेका छन् ।

रक्सीले विहारमा घरेलु हिंसा र अपराध बढेको भन्दै प्रतिबन्ध लगाइएको थियो । रक्सी बेच्नेमाथि कारबाहीको कानून ल्याइएको छ । पहिलोपटक रक्सी पिएको भेटिएमा जरिवाना वा एक महिना जेलमा जानुपर्ने हुनसक्छ । दोहोरिएर रक्सी पिएको भेटिएमा एक वर्ष जेल जानुपर्ने कानून छ । तर, विहारले रक्सी बेच्न प्रतिबन्ध लगाउँदा करोडौं डलरको कर गुमाइरहेको छ । तर, गैरकानूनी रक्सी अझै तस्करी गरी पुर्याइन्छ । जसको मूलय तेब्बर पर्दछ ।



प्रतिक्रिया दिनुहोस्