Logo

कमल थापाको प्रतिवेदनमा के छ 



काठमाडौं, ९ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको उदासिनताका कारण आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसकेको बताएका छन् । काठमाडौंमा सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एमालेको उदासिनताका कारण चुनावमा अपेक्षाकृत परिणाम आउन नसकेको बताएका हुन् ।

यसबाट पाठ सिकेर आगामी संसदीय निर्वाचनको तयारीमा जुट्नुपर्ने बताउँदै अध्यक्ष थापाले आफ्नो प्रतिवेदनमा लेखेका छन्, ‘चुनावमा हामीले नेकपा(एमाले) सँग सहकार्य गर्ने निर्णय ग¥यौँ । व्यवहारिक र रणनीतिकरुपमा ठीक भएता पनि नेकपा (एमाले)को उदासिनताको कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममखि हुन सकेन । यो चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर अब हामीले आगामी संसदीय निर्वाचनको तयारी गर्नुपर्छ ।’

अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपा त्यागेर राप्रपा नेपालको नेतृत्व सम्हाल्न पुगेका अध्यक्ष थापाले एमालेसँग सहकार्य गरेर राप्रपा नेपाललाई स्थानीय तह निर्वाचनको मैदानमा उतारेका थिए । तर, राप्रपा नेपालले एउटा पनि पालिकामा जित्न सकेन ।

स्थानीय तह निर्वाचनको समीक्षा गर्न बसेको कार्यसम्पादन समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष थापाले एमालेको उदासिनताका कारण पार्टीले अपेक्षाकृत परिणाम ल्याउन नसकेको बताएका हुन् ।

निकट भविष्यमा नै हिन्दू राष्ट्र पुनर्स्थापनाको निम्ति देशव्यापी सशक्त अभियान थाल्ने बताएका अध्यक्ष थापाले आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘त्यस्तो सहमति जुट्न नसकेको अवस्थामा संविधान प्रदत्त अधिकार अनुरूप ‘धर्मनिरपेक्षता वा हिन्दूराष्ट्र’ भन्ने विषयमा जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गरियोस् भन्ने माग सहित राप्रपा नेपालले जनसंघर्ष गर्नेछ ।’

अध्यक्ष थापाको राजनीतिक प्रतिवेदन

राप्रपा नेपाल
केन्द्रीय कार्यसम्पादन समिति
पार्टीको भावि कार्यदिशा र कार्यक्रम सम्बन्धि अध्यक्षको प्रतिवेदन

केन्द्रीय कार्यसम्पादन समितिका सदस्य साथीहरु,

१. राप्रपा नेपाल पुनर्जागृत भएको तीन महिना पूरा भएको छ । मुलुकको वर्तमान परिस्थितिको समीक्षा गर्दै पार्टीको भावी कार्यदिशा तथा कार्ययोजनाबारे विचारविमर्श र निर्णय गर्न आज हामी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भेला भएका छौँ । यस बैठकमा उपस्थित सम्पूर्ण साथीहरूमा हार्दिक स्वागत गर्न चाहन्छु । काठमाण्डौ उपत्यका वाहिरबाट पाल्नु भएका साथीहरुमा बिशेष धन्यवाद समेत व्यक्त गर्दछु ।

पार्टी पुनर्जागृत भएको तीन महिना भित्र प्राप्त भएका उपलव्धिहरु संतोषजनक मात्र होइन, उत्साहवर्धक समेत रहेका छन् । यस अवधिमा सामान्यरुपमा भएपनि देशको सम्पूर्ण ७७ जिल्लामा पार्टीको जिल्ला कार्यसमितिहरु गठन भएका छन् । प्रदेश नं १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा प्रदेश कार्यसमितिहरु गठन भएका छन् । यसैबिच महिला संगठन, युवक संगठन, बिद्यार्थी संगठन, युवामोर्चा, धार्मिक संगठन, पुर्वप्रहरी परिषद र सांस्कृतिक मंचको केन्द्रीय संरचनाहरू तयार भई क्रियशील समेत भइसकेका छन् । यसरी छोटो अवधिमा नै पार्टी संगठनको महत्वपूर्ण संरचनाहरुको आधार तयार भएको छ ।
पार्टी स्थापनाको छोटो अवधिमा पनि सर्वसाधारण नेपाली जनतामा पार्टी प्रति आकर्षण बढेको छ । बुद्धिजिवी वर्ग तथा नागरिक समाजले राप्रपा नेपाललाई चासो र उत्सुकतापुर्वक हेरी रहेका छन् । पार्टी संगठन निर्माणको निम्ति अनुकल वातावरण तयार भएको छ ।

यो अवस्थामा अब पार्टीको भविष्यलाई कसरी सुनिश्चित तुल्याउने तथा नयाँ पिँढीलाई पार्टीमा कसरी आकर्षित गर्ने भन्ने हाम्रो सामुन्ने कठिन चुनौति छ । राष्ट्रिय राजनीतिमा बढदै गइरहेको ध्रुविकरण तथा गठवन्धन राजनीतिको बढदो अभ्यासको सन्दर्भमा नयाँ पार्टीहरुका निम्ति भविष्यको बाटो सजिलो छैन । यही असहजता र चुनौतिको सामना गर्दै राप्रपा नेपाल अघि बढनु पर्दछ ।

२. यो पृष्ठभूमीमा पार्टीका सबै तहका नेता कार्यकर्ताले बुझ्नु नितान्त जरुरी छ कि हामी लामो र संघर्षपूर्ण राजनीतिक यात्रामा छौँ । हामी ईतिहास निर्माणको अभियानमा छौँ । यो क्षणमा हामीले तत्काल पदिय वा स्वार्थगत परिणामको आशा गर्नु युक्तिसंगत हुँदैन । हामीले आफुलाई कसैसँग तुलना गर्नु पनि उपयुक्त हुँदैन । हामी एउटा यस्तो राजनीतिक शक्ति निर्माण गर्न खोजिरहेका छौँ, जो देशमा हाल क्रियाशील सबै राजनीतिक दलहरु भन्दा विचार, चरित्र र कार्यशैलीको दृष्टिकोणबाट भिन्न हुनेछ ।
नेपालको वर्तमान राजनीतिक परिवेशमा राष्ट्रियता, प्रजातन्त्र र हिन्दुराष्ट्रको मान्यतामा आधारित सम्वर्द्धनवादको विचार बोक्ने शक्ति निर्माण गर्न भइरहेका छौँ । नेपाली राजनीतिमा विगत सात दशकदेखि वर्चस्व कायम गरिरहेका साम्यवाद, समाजवाद र पुँजिवाद जस्ता विचारको विकल्पमा सम्वर्द्धनवादी विचारको विजारोपण गर्न खोजिरहेका छौँ ।
हाम्रो जस्तो तिव्र पार्टीकरण भएको समाजमा यो काम निसन्देह सजिलो छैन । शुरुमा अत्यन्त कठिन र पिडादायक क्षण भोग्नु पर्ने हुन्छ, तर एकपटक प्रसव वेदनाको अवधि पार गरि सकेपछि भने हाम्रो यात्राले तिव्र गति हासिल गर्नेछ । त्यो अवधि कति लामो हुनेछ, त्यो हाम्रो मिहेनतमा निर्भर रहन्छ । प्रारम्भिककालको अवरोध हटेपछि भने राप्रपा नेपालको गतिलाई भने कसैले रोक्न सक्दैन ।
नेपाली समाज मुलतः धर्म संस्कृति र सनातन मुल्य मान्यता प्रति आस्था राख्ने परम्परावादी स्वभावको छ । नेपाली समाजको यो वर्गिय चरित्र र स्वभाव अनुकुलको वैचारिक दर्शन बोक्ने एकमात्र राजनीतिक दल भएको कारणले गर्दा पनि राप्रपा नेपालको भविष्य उज्जवल छ ।
त्यसर्थ, म फेरी दोहराएर भन्न चाहन्छु, हामी लामो यात्रामा हिँडेका छौँ । हाम्रो भविष्य समुज्जवल छ। तर, त्यसको निम्ति पहिलो र अनिवार्य शर्त भनेको ‘धैर्यता’ हो । धैर्यता नभएका र तत्कालै परिणामको आशा राख्नेहरु राप्रपा नेपालमा निराश हुनसक्छन् ।

३. हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा हाम्रो कुनै महत्वाकांक्षा र अपेक्षा थिएन । पार्टी खडा भएको छोटो अवधिमा नै चुनावमा जानु पर्ने वाध्यात्मक अवस्था थियो । हामीले चुनावमा भाग नलिन पनि सक्थ्यौ तर, चुनाव बहिष्कार गर्दा गलत सन्देश जान्थ्यो । प्रजातन्त्र र जनसर्वोच्चताको सिद्धान्तमा बिश्वास गर्ने पार्टी भएको तथा सुदृढ स्थानीय स्वायत्त शासनप्रणाली राप्रपा नेपालको मुख्य एजेण्डा भएको कारणले गर्दा सांकेतिकरुपमा भएपनि हामीले चुनावमा भाग लियौँ ।
चुनावमा हामीले नेकपा(एमाले) सँग सहकार्य गर्ने निर्णय ग¥यौँ । व्यवहारिक र रणनीतिकरुपमा ठीक भएता पनि नेकपा(एमाले)को उदासिनताको कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममखि हुन सकेन । यो चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर अब हामीले आगामी संसदीय निर्वाचनको तयारी गर्नुपर्छ ।

५. संविधान जारी भएपछि २०७४ सालमा भएको पहिलो आमचुनाव पछि देशमा शान्ति, स्थायित्व र आर्थीक समृद्धि प्राप्त हुने विश्वास राख्दै नेपाली जनताले तत्कालीन नेकपालाई अत्यधिक बहुमत प्रदान गरे । तर, सत्ता, शक्ति र पैसाको भागवण्डा र विवादको कारण नेकपा विभाजित हुनपुग्यो । बहुमत प्राप्त सरकार पतन भयो । जनअभिमत माथि विश्वासघात भयो । अन्ततः सर्वोच्च अदलतको परमादेशबाट नेपाली कंग्रेसको नेतृत्वमा पाँच दलिय गठवन्धन सत्तारुढ हुनपुग्यो । तर, देश र जनताको अवस्थामा कुनै सुधार हुन सकेको छैन । अन्यौल, अनिश्चितता र अराजकताको स्थिति निरन्तर कायम रहँदै आएको छ । अहिले देशको अर्थतन्त्र धराशयी हुनसक्ने अवस्थामा पुगेको छ । प्रजातन्त्रको आवरणमा सर्वसत्तावदी प्रवृत्ति मौलाउँदै गएको छ । धर्मिनिरपेक्षताको आडमा नेपाल संगठित र योजनावद्ध धर्मपरिवर्तनको शिकार भएको छ । बाह्यशक्तिहरुको चलखेल र प्रभाव व्यापक भएको छ ।
अर्कोतर्फ प्रमुख राजनीतिक दल र दलका नेताहरु प्रति जनमानसमा तिव्र असंतुष्टि र वितृष्णा पैदा भएको छ । हालै सम्पन्न स्थानीय निर्वचनमा समेत यसको स्पष्ट संकेत देखा परेको छ । राजनीतिकरुपमा जनविश्वास घटदै जाँदा असुरक्षित महसुश गरिरहेका प्रमुख दलहरु स्वयं सिद्धान्तहिन गठवन्धन गरेर आफ्नो अस्तित्व र वर्चस्व रक्षा गर्न उद्यत रहेका छन् । आगामि केही वर्ष नेपालमा गठवन्धनको राजनीति हावि हुने संभावन देखिन्छ ।

क. उपरोक्त घटनाक्रम र परिवेशलाई दृष्टिगत गर्दै राप्रपा नेपालले आफ्नो भावि कार्यनीति, रणनीति र कार्यदिशा निर्धारण गर्नु पर्ने हुन्छ । यसक्रममाः
ख. नेपालको राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रुपान्तरणको निम्ति बलियो राष्ट्रवादी प्रजातिन्त्रिक शक्तिकारुपमा राप्रपालाई स्थापित गर्नु हाम्रो मुख्य अभिभारा हो । राष्ट्रियता, प्रजातन्त्र र हिन्दुराष्ट्रको मुख्य मान्यतामा आधारित सम्बर्द्धनवादको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नु राप्रपा नेपालको लक्ष्य हो । सम्वर्द्धनवाद, सुशासन र समृद्धि राप्रपा नेपालको प्रमुख नाराहरु हुन् ।
ग. राप्रपा नेपालले राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहलाई आदर्श पुरुषकारुपमा सम्मान गर्दछ तथा राष्ट्रनिर्माताको ‘दिव्य उपदेश’लाई मार्गदर्शक सिद्धान्तकोरुपमा ग्रहण गर्दछ ।
घ. हिन्दुराष्ट्र, सुदृढ स्थानीय स्वायत्त शासनप्रणाली लगायतका मान्यताहरु प्रति दृढ रहँदै नेपालको संविधान २०७२ सँग सहकार्य गर्दै जनताको अभिमतबाट आफ्ना मान्यताहरु स्थापित गर्ने राप्रपाको नीति रहने छ ।
ङ. आमजनताको जीवनस्तरमा सुधार नभएसम्म तथा देशले आर्थिक समृद्धि हासिल नगरेसम्म कुनै पनि राजनीतिक परिवर्तन दिगो हुन नसक्ने यथार्थलाई आत्मसात गर्दै राप्रपा नेपालले आगामि दिनमा आर्थिक क्रान्ति एवं सबल र समृद्ध नेपाल निर्माणको कार्यलाई उच्च प्राथिमकता प्रदान गर्नेछ । नेपालको आर्थिक बिकासको निम्ति राप्रपा नेपालको ‘भिजन’ को रुपमा २० वर्षे ‘दीर्घकालिन राष्ट्रिय बिकास कार्ययोजना’ तयार गरी जनसमक्ष प्रस्तुत गर्नेछ ।

५. हिन्दुराष्ट्र पुनःस्थापना राप्रपा नेपालको मुख्य एजेण्डा हो । निकट भविष्यमा नै हिन्दुराष्ट्र पुनःस्थापनाको निम्ति पार्टीले देशव्यापि सशक्त अभियान संचालन गर्नेछ । सकेसम्म सर्वपक्षिय राष्ट्रिय सहमतिको आधारमा वर्तमान संविधानमा संशिधन गरी पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र पुनःस्थापना गर्ने हाम्रो प्रयास हुनेछ । त्यस्तो सहमति जुटन नसकेको अवस्थामा संविधान प्रदत्त अधिकार अनुरुप ‘धर्मनिरपेक्षता वा हिन्दुराष्ट्र’ भन्ने विषयमा जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गरियोस भन्ने माग सहित राप्रपा नेपालले जनसंघर्ष गर्नेछ । आगामि संसदिय निर्वाचनबाट राप्रपा नेपाललाई कम्तिमा पनि राष्ट्रिय पार्टी बनाउने हाम्रो तत्कालिन उदेश्य हुनेछ ।



प्रतिक्रिया दिनुहोस्