Logo

रोकिएन राजस्व छलीका शृंखला



काठमाडौं, जेठ १० । राजस्व अनुसन्धान विभागले राजस्व छल्लेविरुद्धको कारबाही तीव्र बनाएसँगै करोडौं रुपैयाँ राजस्व छलीको शृंखला धमाधम बाहिरिन थालेको छ । विभागको सक्रियतापछि पछिल्लो समय राजस्व छली गर्नेहरू धमाधम कानुनी दायरामा आउन थालेका छन् ।

यसैक्रममा सोमबार मात्र राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध बिगो र जरिमानासहित कुल १९ करोड ६९ लाख ६३ हजार १६८ रुपैयाँ असुलको माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले विभिन्न गलत उपाय अपनाएर राजस्व छलीमा संलग्न भएका राजकिशोर सिंह कुशवाहा, पुष्करकुमार सिंह, भविचन महत्तो कोइरी, श्रीराम ठाकुर र जटाशंकर जैसवालविरुद्ध बिगोसहित अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले उच्च अदालत पाटनमा दायर गरेको सो मुद्दामा निरज ट्रेडर्स एन्ड सप्लायर्स र राज ट्रेडर्स कम्पनीमार्फत राजस्व छली गरेको पाइएको हो । उनीहरूले भारतीय चिनी अवैध रूपमा चोरी पैठारी गरी मालवस्तु तथा ढुवानी गर्दा सक्कल कागजातमा रहेका विवरण २८ पटकसम्म सच्याई राजस्व छलेको विभागको आरोप छ ।

अनुसन्धानका क्रममा उनीहरूले मालवस्तु तथा ढुवानीका साधन अनगुमन प्रणालीमा एकपटक प्रविष्ट भएको सक्कल कागजातमा रहेका विवरण २८ पटकसम्म सच्याई मालवस्तु ढुवानी गरी काठमाडौं ल्याई बिक्रीवितरण गरेको पाइएको हो । यसैगरी नेपाल सरकारलाई तिर्नुपर्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर छली गरेको देखिएको विभागले जनाएको छ ।

विभागले यस्तो कार्यमा पर्सा जिल्ला घर भई भरतपुर चितवनमा व्यवसाय गर्दै आएका निरज ट्रेडर्स एन्ड सप्लायर्सका प्रोपाइटर श्रीराम ठाकुर र सोही सप्लायर्सका सञ्चालक जटाशंकर जैसवाल रहेको बताएको छ । उनीहरूले कर छली गर्ने उद्देश्यले जालसाजीयुक्त नक्कली तथा झुटो मूल्यअभिवृद्धि कर बिजक खरिद गरी ऐन तथा नियमानुसार तिर्नुपर्ने कर नतिरी राजस्वट चुहावट गरेको विभागको दाबी छ ।

राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२को प्रथम संशोधनसहितको कानुनबमोजिम उनीहरू विरुद्ध त्यसबापत हुन आउने मूअकरतर्फ २ करोड ४१ लाख ३५ हजार ९ सय ४१ र आयकरतर्फ ५ करोड ५७ लाख १६ हजार ६ सय १२ सहित कुल बिगो हुन आउने ७ करोड ९८ लाख ५२ हजार ५ सय ५३ को शतप्रतिशत जरिमाना गरी १५ करोड ९७ लाख ५ हजार १ सय ६ रुपैयाँबराबरको मागदाबी गरिएको विभागले जनाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्