Logo

संक्रमित मुलुकबाट नेपाल आउनेलाई क्वारेन्टिन?



काठमाडौं, जेठ १० । विश्वमा फैलिएको बाँदरेखटिरा (मंकीपक्स) को संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ ।

अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्विडेनलगायत १५ वटा देशमा मंकीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पुष्टि गरेसँगै नेपाल सरकारले पनि सचेतनाका लागि आग्रह गर्दै स्वास्थ्य सुरक्षा अपनाउन आह्वान गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स संक्रमण फैलिएका मुलुकबाट नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकहरूलाई कोभिड– १९ मा जस्तै दुई हप्ता क्वारेन्टिन बस्नुपर्ने नियम लागु गर्न आग्रह गरेको छ ।मंकीपक्स संक्रमण भएका व्यक्तिमा शरीरमा चिलाउने खटिरा वा दाग देखिने र जिउभरि फैलिने हुन्छ ।

यसमा ज्वरो आउने, जीउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्नेगर्छ । संक्रमण भएको केही दिनमा अनुहारमा पनि बिमिराहरू देखापर्न थाल्छन् । डब्लूएचओले जनाएअनुसार मंकीपक्स झट्ट हेर्दा फोहोर खटिरा वा ठेउला भनेर चिनिने गरेको रोगजस्तै देखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता सागर अधिकारीले जानकारी गराए ।

डब्लूएचओका अनुसार मंकीपक्स भाइरस एकबाट अर्को व्यक्तिमा घाउको रस वा कणबाट र हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिने गर्दछ । संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्नसक्ने जनाइएको छ । त्यस्तै, संक्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भाइरस सर्नसक्छ । संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्नसक्ने डब्लूएचओले जनाएको छ ।

हालसम्म ८० भन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको र शंकास्पदको अनुसन्धान भइरहेको संगठनले जनाएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्