Logo

फोहोर व्यवस्थापनमा अड्चन



काठमाडौं, जेठ १० । काठमाडौं महानगरपालिकाको जनप्रतिनिधिको पदावधि सकिँदै गएपछि राजधानीमा फोहोरमैला असरल्ल रूपमा सडकमै यत्रतत्र थुप्रिँदै आइरहेको छ। काठमाडौं महानगरमा गत फागुनदेखि हालसम्म ५० दिनभन्दा धेरै समय फोहोरमैला सडकमै यत्रतत्र थुपिँदै आएको हो। यही जेठ ५ मा आधिकारिक रूपमा जनप्रतिनिधि रिक्त भएसँगै संघीय राजधानीसमेत रहेको काठमाडौंका सडक, गल्ली र चोकचोकमा असरल्ल फोहोरमैला थुप्रिएर दुर्गन्ध बढ्न थालेको छ।

महानगरको कर्मचारी संयन्त्रले फोहोरमैला नियमित रूपमा उठाउन नसकेपछि राजधानीको फोहोर फ्याँक्न प्रहरीलाई समेत गुहार्नुपरेको छ। संघीय राजधानी काठमाडौं महानगरमा दुई सातादेखि सडकमै असरल्ल रूपमा फोहोरमैला थुप्रिए पनि जनप्रतिनिधिको अभावमा कर्मचारीतन्त्र फोहोरमैला उठाउन असफल देखिएको हो। सहरी विकास मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा फोहोरमैला व्यवस्थापनमा सहजीकरण गर्न लिखित रूपमा अनुरोध गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले फोहोरमैला व्यवस्थापनमा कुनै अवरोध आएको खण्डमा प्रहरी परिचालन गरेर भए पनि व्यवस्थापन गर्ने तयारी भइरहेको बताए। ‘फोहोरमैला व्यवस्थापनमा सोमबार कुनै अवरोध आएको छैन,’ उनले भने, ‘अवरोध हुने कुनै संकेत पाएको खण्डमा रातिबाटै हामीले सुरक्षाकर्मी परिचालन गरेरै भए पनि फोहोरमैला व्यवस्थापनमा सघाउनेछौं।’ ल्यान्डफिल्ड साइट इन्जिनियर सरकारदीप श्रेष्ठले वर्षात्को पानीका कारण फोहोरमैला ल्यान्डफिल्ड साइटमा लैजान समस्या भइरहेको बताए। ‘तिनपिप्ले–मुड्खु खण्ड अवरोधका कारणले रोकिएको फोहोरमैला अहिलेसम्म पनि समस्या भइरहेको छ,’ उनले भने, ‘चुनावअघि रोकिए पनि अहिले त्यस्तो छैन।

तर पुरानो स्टक फोहोरमैला व्यवस्थापन नभएकाले समस्या देखिएको हो।’ काठमाडौं महानगरपालिका वातावरण विभागका अनुसार गत फागुनदेखि हालसम्म ५० दिनभन्दा धेरै समय अवरोधका कारणले फोहोरमैला सडकबाट उठ्न नसकेको हो।

फागुन १ देखि १३ सम्म फोहोरमैला संकलनमा अवरोध भएको थियो। फागुन २५ देखि चैत ५ सम्म दोस्रोपटक अवरुद्ध बन्यो। तेस्रोपटक चैत १६ देखि २६ सम्म पनि फोहोरमैला संकलन अवरुद्ध भएको थियो। त्यति मात्रै होइन, गत वैशाख ११ देखि २४ सम्म फोहोरमैला उठेको थिएन। महानगरले स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षाकर्मी परिचालन गरेर फोहोरमैला ल्यान्डफिल्ड साइट सिसडोलमा व्यवस्थापन गरेको थियो।

काठमाडौं महानगरपालिका वातावरण विभागकी विभागीय प्रमुख सरिता राईले काठमाडौंको फोहोर एउटा कारणले भन्दा पनि धेरै कारणले उठ्न नसकेको बताइन्। ‘उपत्यकाको फोहोर एउटा निकायको अवरोधका कारण मात्रै होइन, धेरै निकायको अवरोधका कारणले समस्या आएको हो,’ उनले भनिन्, ‘कहिले नुवाकोटको मुड्खु भन्ज्याङ स्थानीयको अवरोधका कारणले त कहिले वर्षात्का कारणले फोहोर उठ्न सक्दैन।’

विभागका अनुसार पछिल्लो समय भने काठमाडौंको टेकुस्थित फोहोरमैला स्टेसन वरपरका स्थानीय जनताको अवरोधका कारण पनि राजधानीमा नियमित फोहोरमैला उठ्न नसकेको हो। महानगरले उपत्यकाको फोहोरमैला अस्थायी रूपमा टेकुको स्टेसनमा संकलन गरेर सिसडोलको ल्यान्डफिल्ड साइटमा व्यवस्थापन गर्दै आइरहेको थियो।

तर हरेक दिन बिहान ८ बजेपछि अस्थायी रूपमा सञ्चालन हुँदै आइरहेको फोहोरमैला संकलन केन्द्रमा अहिले यहाँका स्थानीयले फोहोरमैला ल्याएको खण्डमा प्रवेश नदिने भन्दै उर्दी जारी गरेका छन्। यसले गर्दा पनि फोहोरमैला संकलनमा अवरोध भइरहेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्