Logo

महँगीले सबैको भान्सामा असर गरेको छ, सरकारको नीति तथा कार्यक्रम निबन्ध पढेजस्तो नहोस्ः पूर्व गभर्नर



काठमाडौं, १० जेठ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले सरकारको नीति तथा कार्यक्रम आर्थिक पुनरुत्थान र जनतालाई राहत दिने गरी आउनुपर्ने औंल्याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. नेपालले भने, “सरकारको नीति तथा कार्यक्रम निबन्ध लेखेको जस्तो नआओस् । तीनचार घन्टा पढ्ने, काम केही नहुने हुनुभएन । वर्तमान स्थितिलाई ध्यानमा राखेर आउनुपर्छ । आर्थिक पुनरुत्थान यसको मुख्य सर्त हो । पछिल्लो समय पेटोलियम पदार्थको मूल्यवृद्धिका कारण महँगी बढेका हुनाले सबैको भान्सामा असर गरेको छ । त्यसैले जनतालाई राहत दिने गरी आउनुपर्छ । यसमा अरु नीतिगत कार्यक्रमको अर्थ छैन । सनातनीभन्दा फरक आउनुपर्छ ।”
बिग्रँदो अर्थतन्त्र र महँगी बढेको दोष नेपाली कांग्रेसलाई मात्र दिन नमिल्ने पनि उनले औंल्याए । डा. नेपालले भने, “हो, अहिले अर्थतन्त्रमा खतराको घण्टी बजेको छ । अर्थतन्त्र सचेत हुने बेलामा पुगेको छ । दलहरु सत्ताबाट बाहिर जाँदा एकदमै सोच्छन्, सत्तामा बस्दा वास्ता गर्दैनन् । त्यो चलन अहिले ब्रेक गर्ने बेला हो । यहाँ चुक्यौँ भने हामी श्रीलंका बन्न सक्छौं । तर यसको सीधै दोष कांग्रेसलाई दिन मिल्दैन । किनभने यो गठबन्धनको सरकार हो ।”



प्रतिक्रिया दिनुहोस्