Logo

मूल्यवृद्धि बाध्यता हो, आयल निगमलाई अझै पनि पेट्रोलमा १४, डिजेलमा २६, एलपी ग्यासमा ८८० रुपैयाँ घाटा छः कार्यकारी निर्देशक



काठमाडौं, १० जेठ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जनतालाई अत्याचार नगरेको स्पष्टीकरण दिएका छन् ।
हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थानीले भने, “पेट्रोलियम पदार्थ स्वदेशमा एक थोपा पनि नहुने बस्तु हो । नेपाल आयल निगमले पनि किनेर ल्याएर बेच्ने हो । रसिया र युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा चर्को मूल्यवृद्धि छ । पेट्रोलियम पदार्थमा अझै पनि परल मूल्यभन्दा पेट्रोलमा १४ रुपैयाँ, डिजेलमा २६, एलपी ग्यासमा ८८० रुपैयाँ घाटा छ ।”
पेट्रोलियम पदार्थमा जनतालाई राहत दिन निगमले कर घटाउन पत्र बुझाइसकेको पनि उनले औंल्याए । थानीले थपे, “इन्धनमा छिटोछिटो मूल्यवृद्धि भएको कुरामा म पनि सहमत छु । तर जनतालाई राहत दिने कुरामा सरकार कानमा तेल हालेर बसेको पनि होइन, नेपाल आयल निगमले अत्याचार गरेको पनि होइन । कर घटाउने विषयमा निगमले २०७८ चैत १२ गते नै नेपाल सरकारलाई अनुरोध गरेको छ । यसले सकारात्मक परिणाम ल्याउने आशा छ ।”
सरकारले आयल निगमलाई व्यापारिक कम्पनीमा वर्गीकरण गरेकाले घाटा घटाउनुपर्ने दबाब रहेको उनले स्वीकारे । कार्यकारी निर्देशक थानीले भने, “यो आयल निगमको बाध्यता हो । सरकारले निगमलाई व्यापारिक कम्पनीको रुपमा वर्गीकरण गरेको छ । परल मूल्यभन्दा कममा बेचेर आयल निगमले सस्टेन गर्न सक्दैन । त्यसैले सबैभन्दा पहिले ब्रेक इभनमा लैजानुुपर्छ । २०७१ मा स्वचालित मूल्य प्रणालीको कार्यविधि अपनाएको भए पनि बीचमा त्यसको पालना भएन । यसको एक मात्र उपाय भनेको आफ्नो देशमा उत्पादन नहुने वस्तुको कम खपत गर्नुपर्ने हो । जोर विजोर, दुई दिन बिदाका उपाय पनि छन् ।”



प्रतिक्रिया दिनुहोस्