Logo

दुर्गादत्त जसले डोटीमा एमालेलाई निल हुनबाट जोगाए



डोटी, जेठ १० । जिल्लाका सबै स्थानीय तहको मतपरिणाम आइसकेको छ । निर्वाचित जनप्रतिनिधिले पदभारसमेत ग्रहण गरिसकेका छन् ।

गठबन्धनविनै चुनाव लडेको कांग्रेसले यसपटक जिल्लाका ९ स्थानीय तहमध्ये ७ वटामा प्रमुखरउपप्रमुख दुवै र एउटा पालिकामा उपप्रमुख जितेको छ ।

अघिल्लो पटक ५ पालिका प्रमुख र ६ उपप्रमुख जितेको एमालेले भने एक पालिका प्रमुखरउपप्रमुखमा चित्त बुझाउनु परेको छ । माओवादी केन्द्रले भने आफ्नो पुरानै हैसियत जोगाएको छ ।

०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले पाँच पालिकाहरु दिपायल सिलगढी नगरपालिका, सायल, आदर्श, पूर्वीचौकी र जोरायल गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै जितेको थियो ।

बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै जित भएको थियो । यस पटक भने एमालेले विरासत जोगाउन सकेन । जोरायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले पुरानै उम्मेदवार दोहोर्‍याएको थियो ।

नेकपा एकीकृत समाजवादीका नेता एवं बहानवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरको गृह पालिका समेत रहेको जोरायल पञ्चायत कालदेखिनै कम्युनिष्टको उर्वर भूमि मानिन्छ । तर, यस पटक भने एमालेलाई चुनाव जित्न हम्मेहम्मे भयो ।

गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार दुर्गादत्त ओझा प्रतिस्पर्धीसँग झिनो मतान्तरले विजयी भए । ओझाले ३४४९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपककुमार बिष्टले ३४१२ मत ल्याए । एमालेका ओझा जम्मा ३७ मतान्तरले विजयी भए ।

गत निर्वाचनमा पनि यस गाउँपालिकामा ओझा र बिष्टबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला ओझाले बिष्टलाई ६४६ मतान्तरले पछि पारेका थिए । एमालेले जोरायलमा उपाध्यक्ष पनि जितेको छ । एमाले उम्मेद्वार जमुना बोहरा ३५९९ मत ल्याएर उपाध्यक्षमा पुनः निर्वाचित भएकी छन् ।



प्रतिक्रिया दिनुहोस्