Logo

काँग्रेसले पाँच वर्ष अघिभन्दा बढी पालिका जित्यो



काठमाडौं, १० जेठ । नेपाली काँग्रेसले २०७४ को स्थानीय निकायको निर्वाचनमा भन्दा बढी पालिका जितेको छ । काँग्रेसले पाँच वर्ष अघि २६६ पालिका जितेकोमा यसपटक ३२२ पालिका जितिसकेको छ । ४ पालिकामा काँग्रेस अगाडि रहेकाले विगतमा भन्दा काँग्रेसले ६० पालिका बढी जित्ने निश्चित देखिएको छ ।

काँग्रेसले २०७४ मा जितेको विराटनगर र ललितपुर महानगरपालिकामा यसपटक पनि बाजी मारेको छ । उपमहानगरपालिकाहरुमा काँग्रेसले अघिल्लो चुनावमा पराजय व्यहोरेको बुटवल र इटहरी जितेको छ । तर, धनगढी र धरान गुमाएको छ । धरानमा २०७४ को चुनाव हारेपनि उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।

काँग्रेसले मध्यपुर ठिमी, पनौती, बनेपा जस्ता नगरपालिकाको नेतृत्व एमालेलाई हराएर हात पार्न सकेको छ । बागमती प्रदेशमा काँग्रेसले महत्वपूर्ण सफलता हासिल गरेको छ । मधेश प्रदेशमा पनि काँग्रेसले सुधार गरेको छ ।

समग्रमा काँग्रेसले पाँच वर्ष अघिको भन्दा बढी पालिका जितेको छ । काँग्रेसले आशा गरेको काठमाडौं महानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार बालेन साह जित्ने सम्भावना बलियो भइसकेको छ ।

दाङमा पनि काँग्रेसलाई धक्का लागेको छ । तर, लुम्बिनी प्रदेशको रुपन्देही, गुल्मी, पाल्पा जस्ता जिल्लाहरुमा काँग्रेसले सुधार गरेको छ ।



प्रतिक्रिया दिनुहोस्