Logo

मेयर नबन्दै पाेखराका धनराज आचार्यले मागे संघीय सरकारबाट बजेट



पाेखरा, १० जेठ। एमालेले आफ्नाे गढ दाबी गरेका पाेखरा महानगरपालिकाका वडाहरूकाे मत गणना चलिरहेकाे थियाे । १५, १६, १७, २१ र ३३ लगायत वडामा करिब दाेब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडा आइपुग्नुअघि केही मतले मात्र धनराज आचार्यले अग्रता लिएका थिए । सबैकाे ध्यान यिनै वडाहरूमा थिए कि यहाँबाट एमालेले लिड गरे चुनाव जे पनि हुन सक्छ ।

यस्तै अन्याेलका बीच गठबन्धनबाट मेयर उम्मेदवार धनराज आचार्य आइतबार काठमाडाैं गए । पाेखराका प्रमुख याेजनाहरू संघीय सरकारलाई बुझाए । विशेषगरी ल्यान्डफिल साइट स्थानान्तरण गर्न उनकाे माग छ । निर्माणाधीन पाेखरा अन्तराष्ट्रिय विमानस्थल चल्न ल्यान्डफिल हटाउनु पर्ने पहिलाे सर्त छ ।

अघिल्ला जनप्रतिनिधिले पाँच वर्षे कार्यकालमा गर्न नसकेकेा ल्यान्डफिल सार्ने याेजनामा अहिले गठबन्धनका उम्मेदवारले पहिलाे चासाे दिए । त्यहाँबाट ल्यान्डफिल सार्न आवश्यक बजेट मागेकाे आचार्यले बताए । `पाेखराकाे प्रमुख चिन्ता ल्यान्डफिल हाे । याे सार्नुपर्छ,´ उनले भने, `अहिले संघ सरकारले बजेट बनाउँदै छ। यहि वर्ष बजेट नहाले ढिलाे हुन्छ । त्यसैले अर्थमन्त्रीसँग आग्रह गरेर आएकाे छु ।´

उनले पाेखरालाई पर्यटकीय राजधानी घाेषणाकाे माग राखेर आएका छन् । `पाेखरा पर्यटनकाे राजधानी हाे । माैखिक रुपमा सबैले भनेका छन् तर आधिकारिक घाेषणा किन नगर्ने ?´ उनी भन्छन्, `यसपालि नीति तथा कार्यक्रममा याे एजेण्डा राख्नुपर्छ भनेकाे छु । सायद सम्बाेधन हुन्छ ।´ पाेखरामा मतगणना जारी छ । अब तीन हजार मत गन्न बाँकी छ । चुनाव जित्ने पक्का भएकै कारण काठमाडाैं पुगेर बजेट छुट्याउन आग्रह गरेकाे उनले बताए । आचार्यले अहिले चुनाव जितिसकेका छन् । गणना गर्न बाँकी मतभन्दा उनकाे अग्रता बढी भएपछि चुनाव जितेका हुन् ।



प्रतिक्रिया दिनुहोस्