Logo

हामीले मात्र वाम एकता, वाम एकता भनेर कति चिच्याउने ? वाम भनिने पार्टीहरूलाई कांग्रेससँगै ‘कम्फरटेबल’ छः शेरबहादुर तामाङ



काठमाडौं, ११ जेठ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले वाम भनिने पार्टीहरुलाई विश्वास गर्न सकिने स्थिति नरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै तामाङले भने, “स्थानीय तहको निर्वाचनको समग्र समीक्षाका लागि केही समय अझै लाग्छ । गठबन्धनका कारण हामी एकदमै खुम्चियौं भन्ने निराशाजनक अवस्था छैन । पपुलर मतमा हामी नै पहिलो हौं । वाम गठबन्धनबारे अहिले नै यसै भन्न सकिने अवस्था छैन । गैर वाम पार्टीसँग मिलेर वाम पार्टीलाई हराउन मत साटासाट गर्छ, सरकार बनाउन लाग्छ भने उसलाई कसरी वाम पार्टीका रुपमा उभ्याउने ? उनीहरु गैर वाम पार्टीसँगै कम्फरटेबल छ भन्छन् भने हामीले वाम एकता वाम एकता भनेर कति चिच्याउने ?”
हिजो संसद्मा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको पुलिन्दा भएको एमाले नेता तामाङले औंल्याए । उनले भने, “संसद्मा राम्रो इस्यु आउँदा टेबुल बजाउने चलन छ । तर हिजो सत्तापक्षका माननीयहरुले एक पटक पनि टेबुल बजाउनुभएन । यसको कारण के भने हिजो जे कार्यक्रम चलिरहेको थियो, त्यसलाई थप सुदृढ, व्यवस्थित र राम्रो गर्छु भन्ने बाहेक ‘वाह! केही हुँदै छ’ भन्ने कुनै कार्यक्रम आएनन् । पुरानो कार्यक्रम निरन्तरता दिनुभएको छ, त्यसमा धन्यवाद छ । तर अर्थतन्त्र संकटमा छ, महँगी बढिरहेको छ, यस कुरालाई सम्बोधन गर्ने कार्यक्रम भएनन् । सामान्य ढंगले परम्परागत कार्यक्रम आएनन्, नौलो कुरा भएनन् ।”



प्रतिक्रिया दिनुहोस्