Logo

देउवाकै दूरदर्शिताका कारण कांग्रेस पहिलो पार्टी बन्योः रामहरि खतिवडा



काठमाडौं, ११ जेठ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सरकारको नीति तथा कार्यक्रम जनमुखी र गाउँमुखी भएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “सरकारको नीति तथा कार्यक्रम केपी ओलीको पालाको जस्तो मनगणन्ते र हावादारी छैन । रेल, पानीजहाजका कुरा छैनन् । स्वर्गमा जाने सुनको भर्याङ, सगरमाथामा केबल कार बनाउने जस्तो कार्यक्रम छैन । जनमुखी छ । गाउँमुखी छ । साना साना कुरामा केन्द्रित छ । कृषि र स्वदेशी उत्पादनमा जोड दिएको छ । जनताको जीवनस्तर उठाउने खालको छ ।”
स्थानीय तह निर्वाचनको परिणामले सबैसँग मिलेर जान सक्दा उपलब्धि हुने देखाएको पनि उनले बताए । खतिवडाले भने, “यो निर्वाचन परिणामले सबैसँग मिलेर जान सक्दा उपलब्धि हुने देखियो । हिजो तालमेल गलत थियो भन्ने साथीहरु पनि तालमेलकै झोला बोकेर हिँड्नुभयो । म उहाँहरुलाई धन्यवाद दिन्छु । हुन त हामी गठबन्धन नगरेको ठाउँमा पनि विजयी भएका छौं । हामीले बाध्यतात्मक रुपमा मात्र गठबन्धन गरेनौं, एकल रुपमा पनि उठेर जितेका छौं । राजनीतिमा कहिलेकाहीँ विष पिएर पनि मुलुकलाई अगाडि बढाउनुपर्छ । यो गठबन्धनलाई संघसम्म लिएर जानुपर्छ ।”
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको दूरदर्शिताका कारण कांग्रेस पहिलो पार्टी बनेको पनि उनले बताए । उनले भने, “देउवाले एमसीसीमा जोड दिनुभयो । संसद्बाट अनुमोदन भयो । केपी ओली स्थानीय चुनाव हुँदैन भनिरहनुभएको थियो, पहिलो भोट उहाँले नै हाल्नुभयो । धाँधली भयो भन्ने कोही भएन । यो भन्दा राम्रो चुनाव कहिल्यै भएको थिएन । देउवाको दूरदर्शिताका निम्ति पनि धन्यवाद दिनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्