Logo

एमालेले ५ महानगरपालिकाको मेयर हार्दा ३ मा उपमेयर जित्यो



काठमाडौं, ११ जेठ । देशका ६ मध्ये ५ महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार हारिसेकेका छन् । काठमाडौं महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा रहेर प्रतिष्पर्धामा छन् ।

एमालेले ५ महानगरपालिकाको मेयरमा हार व्यहोरिसक्दा काठमाडौंमा पनि गुमाउने निश्चितप्रायः छ । निर्वाचन परिणाम आएका पोखरामा नेकपा एसका धनराज आचार्य, भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल, ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका चिरिबाबु महर्जन, विराटगरमा काँग्रेसकै नागेश कोइराला र वीरगञ्जमा जनता समाजवादी पार्टीका राजेशमान सिंह विजयी भएका छन् । सबै गठबन्धनका उम्मेदवार हुन् ।
तर, उपमेयरमा भने नेकपा एमालेले सफलता हासिल गरेको छ । एमालेबाट पोखरामा मञ्जुदेवी गुरुङ, ललितपुरमा आस्था शाक्य र विराटनगरमा शिल्पा कार्की उपमेयरमा विजयी भए । काठमाडौंमा एमालेकी सुनिता डंगोलले उपमेयरमा जीत पक्का गरिसकेकी छिन् ।
एमालेले २ महानगरपालिकामा भने उपमेयर पनि गुमाएको छ । वीरगञ्ज र भरतपुरमा भने काँग्रेसका उम्मेदवारले उपमेयर जितेका छन् । गठबन्धनमा रहेको काँग्रेसले पोखरा र जसपाले विराटनगरको उपमेयर हारेको छ । नेकपा एसले काठमाडौंको उपमेयरमा पराजय व्यहोर्ने निश्चित भएको छ ।
गठबन्धनले काठमाडौंमा मेयर र उपमेयर दुवै गुमाउने देखिएको छ । काठमाडौंमा मेयरमा स्वतन्त्रका बालेन साह जित्ने सम्भावना बलियो देखिएको छ । उपमेयरमा एमालेकी सुनिता डंगोलले जीत पक्का गरिसकेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्