Logo

तुलसीपुरको मतगणना अन्तिम चरणमा, एमालेले जित्दै मेयर र उपमेयर



दाङ, जेठ ११ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । जम्मा ७४ हजार ३३६ मत खसेकामा ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी छ । अहिलेसम्मको मत परिणामअनुसार नगरप्रमुखमा नेकपा (एमाले)का टीकाराम खड्का तीन हजार ३६६ मतले अघि छन् ।

खड्काले ३० हजार ३५ मत प्राप्त गेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६६९ मत प्राप्त गरेका छन् । तुलसीपुरमा एमालेले सुरुआतदेखि अग्रता लिँदै आएको छ ।

उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अघि छिन्। उनले निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानालाई नौ हजार २०१ मतान्तरले पछि पारेकी छन् । चौधरीले २९ हजार ३४५ मत प्राप्त गरेकी छन् भने रानाले २० हजार १४४ मत प्राप्त गरेका छन् ।

उन्नाइस वडामध्ये अहिलेसम्म १७ वडाको नतिजा सार्वजनिक भइसकेको छ । अहिले वडा नं १७ र १९ को मतगणना भइरहेको छ । तुलसीपुरमा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot