Logo

मन्त्री यादवलाई धमलाको प्रश्नः “सरकारको नीति तथा कार्यक्रम आउँदा सत्तारुढ सांसदहरुले ढ्याप ढ्याप गरेर समर्थन जनाएनन् नि !”



काठमाडौं, ११ जेठ । कृषि मन्त्री महिन्द्र राय यादवले सरकारले अघिल्लो सरकारले पूरा गर्न नसकेका कार्यक्रम नीति तथा कार्यक्रममा समेटेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले भने, “सरकारको नीति तथा कार्यक्रम पुरानो ढर्रामा छँदै छैन । मुलुकमा विकासको नयाँ अनुभूति हुने गरी आएको छ । हामीले धेरै नयाँ कुरा गरेर काम नगर्ने भन्दा पनि विगतको सरकारले अधुरा छाडेका र पूरा गर्न नसकेका कार्यक्रमलाई प्राथमिकता दिएको छ ।”
सत्तारुढ दलका सांसदले नै संसदमा ढ्याप ढ्याप बजाएर समर्थन गरेनन् नि भन्ने पत्रकार धमलाको प्रश्नमा मन्त्री यादवले भने, “सांसदहरुले ताली बजाउनु नबजाउनुले नीति तथा कार्यक्रम राम्रो नराम्रो भएको निर्धारण गर्दैन । सांसदहरुले काम नगर्ने सरकारको कार्यक्रमलाई ढ्याप ढ्याप गर्छन् । यसमा त कार्यान्वयन हुने कार्यक्रम छन् ।”
सरकारको नीति तथा कार्यक्रमले कृषि उत्पादनको वृद्धि र आत्मनिर्भर अर्थतन्त्रमा प्राथमिकता दिएको यादवले औंल्याए । उनले भने, “कृषिनीतिलाई समयसापेक्ष बनाउने, कृषि उत्पादन वृद्धि, प्रत्येक पालिकामा भेटनरी डाक्टर, विद्यालय तहदेखि नै कमाउ र पढाउ कार्यक्रम राम्रा छन् । चुनावमुखी लोभ्याउने नारा यसमा छैनन् ।”
साथै उनले किसानले असारको पहिलो हप्तासम्म रासायनिक मल पाउने पनि बताए । उनले भने, “भारत सरकारसँग डेढ लाख मेट्रिक टन मल खरिदका लागि एमओयू भइसकेको छ । भारतले पनि अन्तबाट ल्याएर दिने भएकाले अलिकति समय लागेको हो । त्यस्तै नेसनल टे«डिङ लिमिटेडले ४२ मेट्रिक टन मल ल्याउँदै छ, खासबाट २२ हजार मेट्रिक टन मल आउँदै छ । मलखादको समस्या नेपालको मात्र नभएर अन्तराष्ट्रिय जगत्मै छ । असारको पहिलो हप्तासम्म आइपुग्छ । हामी किसानलाई समयमै मल उपलब्ध गराउँछौ ।”
जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री यादवले संघको निर्वाचनसम्म गठबन्धनलाई कायम राखेर जाने पक्षमा रहेको बताए । उनले भने, “स्थानीय तहको निर्वाचनमा जसपा अघिल्लो पटक जहाँ थियो, त्यही अवस्थामा छ । पार्टीको संगठन र संरचनाका आधारमा प्रतिनिधि छनोट भएको छ । गठबन्धन केही ठाउँमा सफल भएको छ, केही ठाउँमा त्रुटि भएको छ । प्रदेश र संघमा पनि सँगसँगै जाने हो । गठबन्धनबारे हामी सकारात्मक नै छौं । किनभने गठबन्ध्न मुलुकको राजनीतिक स्थिरता र संविधानको रक्षाका लागि हो । त्यो अझै पनि आवश्यक छ । लामो समय जान्छ ।”



प्रतिक्रिया दिनुहोस्