Logo

तुलसीपुर उपमहानगरमा एमाले विजयी



काठमाडौँ,११ जेठ । तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा (एमाले) विजयी भएको छ । नगरप्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएको हो । खड्का निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फबाट उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार ६९१ मतान्तरले पछि पार्दै विजयी भएको हो ।

खड्काले ३१ हजार ४०८ मत प्राप्त गर्नुभएको थियो भने गिरीले २७ हजार ७१७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका प्रमुख राजेश्वर अर्यालले बताए । त्यस्तै उपप्रमुखमा चौधरी निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानालाई नौ हजार ५३२ मत पछि पार्दै विजयी भएको हो । चौधरीले ३० हजार ५९७ मत ल्याएका थिए भने रानाले २१ हजार ६५ मत ल्याएका थिए ।

तुलसीपुर उपमहानगरपालिकामा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ मत खसेको थियो ।

२०५४ यता एमालेकै राज

तुलसीपुरमा २०४९ सालमा कांग्रेसका शङ्करप्रसाद आचार्य प्रमुख निर्वाचित हुनुभएको थियो भने कांग्रेसकै प्रदीपबहादुर शाह उपप्रमुख थिए । त्यतिबेलाका फुलबारी, टरिगाउँ, उरहरि, पवननगर, हलवार, विजौरी, डुरुवा र मानपुर गाविस अहिले उपमहानगरपालिकामा गाभिएका छन् । विसं २०४९ मा यी सबै गाविसमा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा जितेको थियो ।

तुलसीपुरलाई समृद्ध बनाउछु ः खड्का

निर्वाचित भएसँगै राससलाई प्रतिक्रिया दिँदै टीकाराम खड्काले तुलसीपुरलाई समृद्ध बनाउने बताएका छन् । उनले जनताले विश्वास गरेर जित्न सफल भएको भन्दै मन जित्ने गरी काम गर्ने बताए यो । त्यस्तै नवनिर्वाचित उपप्रमुख स्यानीय चौधरीले पिछडिएका वर्गको उत्थान गर्न आफू तत्पर रहने बताए । रासस



प्रतिक्रिया दिनुहोस्