Logo

तिब्बती शरणार्थीलाई उकासेको भन्दै ओलीद्वारा अमेरिकी उपसहायकमन्त्रीको आलोचना



काठमाडौं, ११ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अमेरिकी उपसहायक मन्त्री उज्रा जियाले नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई उक्याउने गतिविधि गरेको आरोप लगाएका छन् । उनले नेपालको स्थापित मूल्य र मान्यतालाई खण्डित गर्ने गरी जियाले गतिविधि गरेको आरोप लगाएका हुन् ।

आज एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले नेपाली भूमिलाई प्रयोग गरेर तिब्बती शरणार्थीलाई उकास्ने कार्य भएको टिप्पणी गरे । एमाले बैठकबाट संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिदै ओलीले तिब्बती शरणार्थीको मामलामा अमेरिकी उपमन्त्रीको कदमबारे सविस्तार चर्चा गरेको समेत बताए ।

‘नेपालको परराष्ट्र नीतिका स्थापित मूल्य र मान्यताहरुलाई खण्डित गर्ने प्रकारको व्यवहार अमेरिकी उपसहायक विदेशमन्त्रीबाट भयो,’ ओलीको भनाई उदृत गर्दै भट्टराईले भने । ओली नेपाली भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने परराष्ट्र नीति रहेको भन्दै त्यसमा एमाले प्रतिवद्ध भएर लाग्ने बताए ।

नेपाल भ्रमणका क्रममा अमेरिकी उपसहायक मन्त्री जियाले जावलाखेल र बौद्धस्थित तिब्बती शरणार्थी शिविरमा पुगी भेट गरेकी थिइन् । उनी भारतस्थित धर्मशालामा दलाई लामालाई भेटी नेपाल भ्रमणमा आएकी थिइन् । जियाको नेपाल भ्रमण र तिब्बती शरणार्थीसँगको भेटलाई चीनले चासोका साथ लिएको थियो ।-File Photo



प्रतिक्रिया दिनुहोस्