Logo

नम्बर १ कै वस्तुको निर्यात घट्दो



काठमाडौं, जेठ १२ । भारतले विदेशबाट आयात हुने भटमासको तेलमा लगाउँदै आएको भन्सार दर कम गरेपछि नेपालबाट हुने यसको निर्यात प्रभावित भएको छ । विशेषगरी गत चैतदेखि प्रशोधित भटमास (सोयाबिन) तेलको निर्यात प्रभावित भएको हो ।

गत फागुनसम्म नेपालबाट मासिक औसतमा ५ अर्ब १७ करोड रुपैयाँको प्रशोधित भटमास तेल भारत निर्यात भइरहेको थियो । चैतयता भने मासिक २ अर्ब हाराहारीको मात्र निर्यात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत फागुनमा ४ अर्ब ५४ करोड ८३ लाख रुपैयाँको प्रशोधित भटमास तेल भारत निर्यात भएको थियो । चैतमा १ अर्ब ९० करोड ६४ लाख र वैशाखमा २ अर्ब ४ करोड ३९ लाखको निर्यात भएको तथ्यांक छ । निर्यातको पहिलो नम्बरमा भने प्रशोधित भटमास तेल वैशाखसम्मै छ ।

पहिला भारतले विदेशबाट आयात हुने भटमासको तेलमा ४५ प्रतिशतसम्म भन्सार महसुल लगाएको थियो । तर, नेपाल सार्क राष्ट्र भएका कारण यहाँबाट निर्यात हुनेमा भन्सार महसुल लाग्दैनथ्यो । त्यसकारण भारतीय व्यवसायीले नेपालबाटै भटमास तेल किन्दै आएका थिए । पछिल्लो समय भारतले भन्सार दर कम गरेपछि यहाँबाट हुने निर्यातसमेत प्रभावित भएको ओसीबी फुड्सका सञ्चालक सुरेश रूंगटा बताउँछन् ।

‘पहिला भारतले अन्य मुलुकबाट आयात हुने भटमास तेलमा उच्च दरमा भन्सार लगाएको थियो । तर, नेपाल सार्क राष्ट्र भएकाले यहाँबाट जानेमा भन्सार लाग्दैनथ्यो,’ आर्थिक अभियानसँग उनले भने, ‘पछिल्लो समय अन्य देशबाट आयात हुनेमा पनि भन्सार दर कम गरेपछि यहाँबाट हुने निर्यात प्रभावित भएको हो ।’

उनका अनुसार भारतले बुधवारदेखि त भटमास तेलमा भन्सार नै नलाग्ने घोषणा गरेको छ । अब भारतका व्यापारीले अन्य मुलुकबाट आयात गर्ने भटमास तेलमा पनि भन्सार लाग्ने छैन । त्यो अवस्थामा नेपालबाट हुने निर्यात थप प्रभावित हुने उनी बताउँछन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्