Logo

चन्द्रसूर्य रहेसम्म गठबन्धन रहन्छ भन्ने होइनः मन्त्री राजेन्द्र श्रेष्ठ



काठमाडौं, १२ जेठ । संघीय मामिला र सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलेदेखि नै गठबन्धन तोड्न चाहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री श्रेष्ठले भने, “युद्ध लडिरहेका बेला पनि युद्धरत पक्षबीच सम्पर्क, सम्बन्ध, भेटघाट, विचार आदानप्रदान नहुने होइन । उपेन्द्र यादव र केपी शर्मा ओलीबीचको भेटघाट नै गठबन्धन तोड्नु होइन । ओलीले त पहिलेदेखि नै गठबन्धन तोड्ने कसरत गर्नुभएकै हो ।”
नेपाली कांग्रेससँगको सहकार्य सुखद नरहेको उनले बताए । जनता समाजवादी पार्टीका नेता समेत रहेका श्रेष्ठले भने, “स्थानीय तहको निर्वाचन नेपाली कांग्रेससँगको हाम्रो सहकार्य त्यति सुखद रहेन । उम्मेदवार नभए पनि रुखमै भोट हाल्ने अहंकार कांग्रेसभित्र देखियो । माओवादीमा दम्भ पनि छ । त्यसले गठबन्धनको शक्तिमा असर गर्यो । आफूले मात्र पाउनुपर्छ भन्ने मान्यता राख्ने हो भने गठबन्धन सफल हुँदैन । तर अहिले नै सत्ता गठबन्धन भत्किने सम्भावना छैन । यसको मतलब चन्द्रसूर्य रहेसम्म गठबन्धन रहन्छ भन्ने पनि होइन ।”
स्थानीय तहको निर्वाचनमा जसपाको सुधार देखिएको पनि उनले बताए । श्रेष्ठले थपे, “जसपालाई पहिले भन्दा बढी मत आयो । पालिकाको संख्या पनि तीनचार सिट बढेको छ । पहिले पहाडमा एउटा पनि जितेको थिएन । अहिले जितेको छ । मुख्य कुरा केपी ओलीको ऐतिहासिक अपराधको सजाय एमालेले पाएको छ । यो एमालेका निम्ति पनि पाठ हो ।”



प्रतिक्रिया दिनुहोस्